सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ।कुटाकुटमा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएका छन्।
किसानका लागि अनुदानअन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो।
गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले बताइन्। उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन्।
छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन्। कर्मचारीले समेत महिनौंदेखि तलब खान पाएका थिएनन्।
उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन्। अहिले अध्यक्ष जसपामा छन् भने उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीमा छिन्।
