काठमाडौं: चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन ।
तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । मृत्युको कारण स्पष्ट नभएको अवस्थामा भिसेरा जाँच गर्ने गरिन्छ । यसबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् ।
विष खाएर भण्डारीले आत्महत्या गरेको हुनसक्ने आशंका पनि छ । ‘विष खाएको भए, त्यो भिसेरा परीक्षणबाट पुष्टि हुन्छ’ प्रहरी स्रोतले भन्यो, ‘पोष्टमार्टमबाट उनलाई अन्य चोटपटक चाहिं नभएको देखियो ।’
प्रहरी स्रोतका अनुसार भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको कुनै संकेत देखिएन । शव भेटिनु नौ दिनअघि परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन भइरहेको छ ।
मंगलबार प्रशासनले जिल्लाको राजमार्ग क्षेत्रमा कर्फ्यूसमेत लगाएको थियो ।
