शुक्रबार, ०७ मंसिर
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन्। एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरण सभामा उनले यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने बताए।
चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) तर्फलाई सङ्केत गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताए। ‘अत्यन्तै सफल भ्रमण रहने छ। चीनबाट फर्किएपछि कसरी सफल भ्रमण भयो थाहा पाउनुहुने छ,’ उनले भने, ‘यतिकै चीन यसो घुमेर आऊँ भनेर जान लागेको होइन। देशको भलाइका लागि भ्रमण गरिन्छ।’
प्रधानमन्त्री ओलीले अहिलेको सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताए। उनले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको दाबी गरे। ‘एमालेलाई कसैले हल्लाउन सक्दैन। अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्दैन। सरकारलाई कसैले हल्लाउन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार कमिसन खोरीका लागि होइन। मेरिटोक्रेसीको नाममा आफ्ना कार्यकर्ता भर्नका लागि होइन। जनताको विकासको चाहना पूरा गर्ने र स्थायित्व दिने गरी बनेको हो।’
उनले एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी भएपनि अहिले मुलुकका लागि एक ठाउँमा उभिएको बताए। ‘एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी हुन्। तर कांग्रेस र एमाले किन एक ठाउँमा छन् किन भने अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा एकता चाहिन्छ। अराजकताको स्थिति ल्याउन खोजिएको छ। समाजलाई भाँड्न खोजिएको छ। त्यसैले हामी मिलेका छौ। नेपाली जनताले ल्याएको लोकतन्त्र र सार्वभौम जनताको हैसियतविरुद्ध षड्यन्त्र भइरहेको छ।’
