काठमाडौँ महानगरपालिकाले सत्तारूढ दल नेकपा (एमाले)लाई १ लाख रुपैयाँ जरिवाना गरेको छ।
दरबारमार्गस्थित खुला सडकमा आयोजना गरिएको जागरण सभाका क्रममा फोहोरमैला छरपष्ट गरी वातावरण प्रदूषण गरेको आरोपमा जरिवाना गरिएको हो।
महानगरका मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमाले पार्टी कार्यालयलाई पत्र पठाउँदै फोहरमैला व्यवस्थापन ऐन, २०६८ र महानगरको आर्थिक ऐन, २०८१ अनुसार जरिवाना गरिएको जानकारी दिएका छन्।
पत्रमा भनिएको छ, “मिति २०८१ मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा आयोजना गरिएको जागरण सभाका क्रममा सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण भएको पाइएको छ। यस आधारमा १ लाख रुपैयाँ जरिवाना गरिएको छ। निर्देशानुसार रकम तिर्न अनुरोध गरिन्छ।”
एमालेले शुक्रबार दरबारमार्गमा ठूलो संख्यामा सहभागी भई जागरण सभा गरेको थियो।

