प्राविधिक शिक्षाको उन्नयनमा आफ्नो सिङ्गो जीवन अर्पण गर्नु भएका ई. बाबुराम भट्टराई १५ औं स्मृति दिवस तथा स्मृति पुरस्कार वितरण कार्यक्रम पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसमा मंसिर २४ गते सम्पन्न भएको छ । भट्टराईले इन्जिनियरिङ्ग अध्ययन संस्थानको डिन जस्तो गरिमामय पदमा रहँदारहँदै वि.सं. २०६६ मंसिर २४ गतेका दिन हृदयघातका कारण बिदा लिएका थिए । “बाबुराम भट्टराई स्मृति प्रतिष्ठान” गैर नाफामूलक संस्था हो । यसले आफ्ना सबै गतिविधिहरु प्रतिष्ठानका सदस्यहरु र शुभ चिन्तकहरुको सहयोगबाट गर्ने गरेको छ । प्रतिष्ठानले इन्जिनियरिङ्ग क्षेत्रमा अध्ययन गर्नका लागि प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रालाई “बाबुराम भट्टराई स्मृति पुरस्कार” (नगद) र “सम्मान पत्र” बाट आफ्ना कार्यहरु गर्दै आएको छ । यसको अलावा सामाजिक कार्यहरुमा गरिब, रोगी, अनाथ, वृद्धवृद्धाहरुलाई सहयोग गर्ने, स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दछ ।
यो कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव ई. शितलबाबु रेग्मी रहेका थिए । विशिष्ट अतिथिहरुमा ईन्जिनियरिङ्ग अध्ययन संस्थानका निमित्त डीन प्रा.डा. विनोद भट्टराई, प्रा. कमल जोशी, प्रा.डा. जीवराज पोख्रेल र माननीय मेनुका पोख्रेल लगायत रहेका थिए । कार्यक्रमको अध्यक्षता बाबुराम भट्टराई स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा. रामचन्द्र सापकोटाले गरेका थिए । प्रमुख अतिथि शितलबाबु रेग्मीले सम्झनाको पटलमा बाबुराम भट्टराई रहेको कुरा बताए । उनले भने, बाबुराम एक सरल र स्पष्टवक्ता हुनुहुन्थ्यो । कसैलाई अर्घेलो नगर्ने र हेपाई नसहने उहाँको स्वभाव थियो । उहाँको स्मरण योग्य अर्को बानी थियो – पढ्दा एउटा च्याप्टर स्पष्ट रुपले नबुझी अर्को च्याप्टरमा प्रवेश नै नगर्ने ।
प्रतिष्ठानले अझ शसक्त रुपमा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न सकोस उनले बताए । यो कार्यक्रममा श्री नगेन्द्रराज सिटौलाबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रका विपत जोखिम न्यूनोकरण सम्बन्धको शिक्षाको विश्वविद्यालय तहमा महत्वको विषयमा थियो । प्रतिष्ठानले गरेको कार्यक्रममा इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा २०८१ सालमा लिईएको इन्जिनियरिङ्ग स्नातक तहको प्रवेश परीक्षामा छात्राहरुमध्येबाट सर्वोकृष्ट नतिजा ल्याउन सफल हुनुभई यस क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ्ग कार्यक्रममा अध्ययनरत छात्रा सुश्री संरचना शर्माको विशिष्ट प्रतिभाको उच्च मूल्याङ्कन सहित नगद तथा सम्मान–पत्र “बाबुराम भट्टराई स्मृति पुरस्कार २०८१” प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य केशव कुमार श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका सहायक प्रा. नविन कुमार झा, निमित्त डीन विनोद भट्टराई, पूर्व डीन डा. जीवराज पोख्रेलले समेत शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा प्रतिष्ठानकी संरक्षक श्रीमती मथुरादेवी भट्टराई, श्रृङ्खला साहित्यिक मासिकका सम्पादक प्रवीण जोशी लगायतको समेत उपस्थित रहेको थियो ।


