जसपाको अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए ।
जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखेर आआफ्नो दाबी गरिरहेका थिए। यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको थियो। संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राई लगायतले प्रशिक्षण दिएका थिए।
आइतबारको बैठक राति अबेरसम्म चलेकाले उनीहरूलाई रिसोर्टमै राखिएको र सोमबार पुनः बैठक बसी सिधै निर्वाचन आयोग पुगेको छ।
यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गरे पनि गोदावरीमा भने ३१ जना कार्यकारिणी सदस्य र सांसदको रुपमा २१ जनाको उपस्थिति रहेको जनाएको छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ। संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ। कमजोर देखिएको ठाकुर पक्षले सर्वोच्चमा ‘हेड काउन्ट’ रोक्न अन्तरिम आदेश माग गरेकोमा अस्वीकार भएको छ।
यस्तै, जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य (निलम्बित) रेशम चौधरी कता खुल्छन् भन्ने अझै निश्चित छैन। टीकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन्। पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोसँग रुष्ट छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारलाई लिएर जसपा विभाजित बनेको थियो।

