तीनकुनेमा भएको आगजनी र पत्रकार सुरेश रजकको मृत्यु प्रकरणमा संलग्न अभियोगमा दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान सम्बन्धी मुद्दामा अभियोजन गरिएका सात जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशअनुसार दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठलाई कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
२०७८ साल चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा दुर्गा प्रसाईं र नवराज सुवेदीले आयोजना गरेको प्रदर्शनको क्रममा तीनकुनेस्थित घरमा आगजनी भएको थियो। सो घटनामा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको ज्यान गएको थियो। साथै, प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा सञ्चालित सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको थियो।
प्रहरी अनुसन्धान अनुसार आगजनीमा रामेछापका सरोज गौतम र अछामका गोकर्ण शाहीको संलग्नता पुष्टि भएको छ। अन्य आरोपितहरूमाथि समेत सोही घटनामा संलग्न रहेको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको छ।

