ललितपुर, भदौ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निजी निवासमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।
प्रहरीका अनुसार सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए। त्यसपछि उनीहरूले निवास परिसरमा आगजनीसमेत गरेका हुन्। घटनापछि घर बाहिर रहेका सवारी साधन तथा संरचनामा क्षति पुगेको बताइएको छ।
आगो निभाउन दमकल र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनास्थलमा अहिले समेत प्रहरी र प्रदर्शनकारीबीच सामना भइरहेको छ।
घटनामा मानवीय क्षति भएको वा नभएको प्रारम्भिक रूपमा खुलिसकेको छैन। प्रचण्ड स्वयं त्यतिबेला निवासमै रहेका वा नरहेकोबारे आधिकारिक जानकारी आउन बाँकी छ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरिरहेको र घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ।

