काठमाडौँ: प्रख्यात प्रगतिशील गायक जेबी टुहुरेको बिहीबार दिउँसो निधन भएको छ। मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो।
उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रोक’ भएको बताएका थिए। ७६ वर्षीय टुहुरेलाई सीसीयु कक्षमा राखेर उपचारका क्रममा निधन भएको पुष्टि माओवादी नेता सरल सहयात्रीले गरेका छन्।
वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १ सय ५० भन्दा बढी गीत गाएका छन्। ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको चर्चित जनवादी गीत उनको सबैभन्दा प्रख्यात गीत हो। जुन गीत उनले वि.सं. २०३४ सालदेखि गाउँदै आएका थिए।
टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झुण्डिएको छ।
उनको पार्थिव शरीरलाई आजै दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिँदैछ। त्यसपछि दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार तयारी गरिएको छ।
