काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी नेत्र बिक्रम चन्द ‘विप्लव’ले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी विरुद्ध भोलि भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभा गर्दैछ ।
२० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभा गरिने बताइएको छ । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचार प्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेको बताइएको छ ।
भोलि बिहान साँढे ११ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाट र्यालीहरु सुरु हुने, मूल जुलुस सुन्धाराबाट हुने उक्त ठाउँबाट महासचिव विप्लव जोडिने र जुलुस खुल्ला मञ्चमा प्रवेश गरी १२ बजेदेखि जनसभा सुरु हुने आयोजकले जनाएको छ ।
एसीसीविरुद्ध देशभर साताव्यापी आन्दोलनका कार्यक्रम गर्दै आएको नेकपाले २८ गतेको जनसभालाई विशेष महत्वका साथ राष्ट्रिय स्वाधिनताको आन्दोलनको कार्यक्रम बनाउने जनाइएको छ ।
यो कुनै पार्टी विशेषको कार्यक्रम मात्र नभएर एमसीसीको विरुद्धमा लाग्ने सबै देशभक्त, राष्ट्रप्रेमि र राष्ट्रिय स्वाधिनताकाे पक्षमा लाग्ने स्वाभिमानी नेपाली नागरिकहरुको कार्यक्रम भएकाले सम्पूर्ण देशभक्ति शक्तिहरु र नागरिकहरुलाई उपस्थित हुन नेकपाले अपिल समेत गरेको छ ।
नेकपाका सबै जनवर्गीय सङ्गठन, मोर्चाहरू, देशभक्त, राष्ट्रप्रेमी नागरिकहरु एमसीसीविरुद्ध सडकमा आन्दोलित भइरहेको बेला भोलि हुन गइरहेको यो जनसभाको विशेष महत्व हुने अपेक्षा गरिएको छ।

