बम काण्डका अभियुक्त सञ्जय साहको जन्म कैदको सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले साहको जन्मकैदको फैसलालाई उल्ट्याएको हो। जन्मकैदलाई घटाएर ७ वर्ष सजाय हुने फैसला सुनाइएको अदालतका रजिष्ट्रार खडकराज अधिकारीले जानकारी दिए।
जिल्ला अदालत धनुषाले २०७५ चैतमा पूर्वसांसद तथा राज्यमन्त्रीसमेत रहेका साहलाई जन्मकैदको सजाय सुनाएको थियो। जिल्ला अदालतले साहलाई बम काण्डको घटनाका मुख्य योजनाकार भएको भन्दै जन्मकैदको सजायको फैसला गरेको थियो।
साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षड्यन्त्र गरेर घटना गराएको अभियोगमा भने उच्चले कसुरदार ठहर गरेको छ। उक्त मुद्दाको सजाय निर्धारण गरिएको छैन।
करिब साढे ९ वर्षअघि जनकपुरधामको रामानन्द चोकमा बम विस्फोट भएको थियो। सो घटनामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। २०६९ साल वैशाख १८ गते भएको सो विस्फोटमा झगरुलाल दास कथबनिया, विमल शरण, रञ्जुदेवी झा, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो।

