झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ। कृष्णनग
झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो।
नगरका वडा नं. ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या १ सयभन्दा बढी रहेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले जानकारी दिए।
झाडापखाला र बान्ता भएर स्थानीय शिवराज अस्पताल बहादुरगन्जमा पुगेका बिरामीको बेड अभाव भएपछि बाहिरै राखेर उपचार गरिएको छ। वडा अध्यक्ष कुर्मीका अनुसार झाडापखालाबाट वडा नं. ९ का ५ वर्षीय राज काश्यप, वडा नं. ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं. ७ का एक वृद्धको मृत्यु भएको छ।
नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन्। एक सयभन्दा बढी बिरामी अस्पतालमा भर्ना भएको र त्यत्तिकै संख्यामा सामान्य अवस्थाका बिरामी गाउँमा रहेको वडा अध्यक्ष कुर्मीले बताए।
झाडापखाला के कारण फैलिएको हो भन्ने एकिन कारण पत्ता लागिनसके पनि वर्षायाममा दूषित पानीको कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन्। १५/२० फुट जमिनको सतहमै गाडिएको चापाकलबाट निकालिएको पानीबाट झाडापखाला फैलिएको हुनसक्ने वडा अध्यक्ष कुर्मीले बताए।
