काठमाडाै: १९ बैशाख ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले माग गरेअनुसार प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारले १२० जनाका मुद्दाहरु फिर्ता गरिसकेको छ । सांसद रेशम चौधरीको मुद्दा भने अझै फिर्ता भएको छैन । सरकारले मुद्दा फिर्ता गरेका कारण जसपाका एक पक्षका नेताहरुले खुसीयाली मनाइरहेका छन् र ओलीलाई धन्यवादसमेत दिइरहेका छन् । यसअघि सरकारले झुठा मुद्दा लगाएर सोझा सिधालाई फसाएको जसपा नेताहरुले बताउँदै आएका थिए प्रधानमन्त्री ओलीप्रति मधेसी दलका कार्यकर्ताको मानसपटलमा विगतदेखि नै मधेसविरोधी छवि बनेको थियो । त्यो छवि मधेसको मुद्दा फिर्ता गरेर प्रधानमन्त्रीले हटाउने प्रयास गरेका छन् ।
र,कार्यकर्ताका मुद्दाहरु फिर्ता हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीलाई हेर्ने मधेसी जनताको नजरमा खासै परिवर्तन नआएको मधेस मुद्दामा पक्षधर विश्लेषकहरुको दाबी छ । मधेस आन्दोलन चलिरहँदा मधेसी जनतालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अपमानजनक शब्दहरू प्रयोग गरेको त्यहाँका जनताले नबिर्सेको उनीहरुको विश्लेषण छ । प्रधानमन्त्री ओलीले मधेसकेन्द्रित पार्टीलाई विभाजन गरी आफ्नो सरकारमा ल्याउने हर्कत अझै पनि नछाडेको उनीहरु बतउँछन् ।
मधेस राजनीतिका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्णले रातोपाटीसँग भने, ‘अहिले त्यही मुद्दा फिर्ता लिइएको छ, यो कुनै ठूलो कुरा होइन । मुद्दा फिर्ता लिनु प्रशासनिक काम हो, सरकारले आफ्नो काम गरेको छ, यसले केही परिवारको घरमा खुसीयाली आएको छ, मधेसका लागि आन्दोलनका मुद्दा फिर्ता भएपछि मधेसको माग पूरा भएको भन्नु गलत हो ।’याे पनिमधेसमाथि राज्यले विभेद गरेको र असमावेशी नीति लादेको बताउँदै कर्णले भने, ‘त्यो अन्त्य भएपछि मात्र मधेसी जनताले खुसीयाली मनाउँछन् । मधेसमा अधिकार र पहिचानको अभाव छ, त्यसका लागि युवाहरु लडेका थिए, जसको मुद्दा ओलीले फिर्ता गरेका छन् ।’ तर, मुद्दा फिर्ता गरेर मात्रै मधेसको माग पूरा नहुने उनले बताए ।
मधेसप्रति वैमनस्यता उत्पन्न गर्ने नेतामध्ये केपी शर्मा ओली अग्रमोर्चामा रहेको टिप्पणी गर्दै पूर्वराजदूत कर्णले भने, ‘ओलीलाई मधेस चाहिएको छैन, मधेसका सांसद चाहिएको छ ।’ ओलीको नजर सांसदमाथि रहेको तर, मधेसप्रति उनको सोचमा कुनै परिवर्तन नआएको कर्णले बताए ।
ओली आफू अल्पमत आएपछि मधेसका सांसदलाई सम्झेको आरोप लगाउँदै उनले आफ्नो कुर्सी बचाउनका लागि केही थान मुद्दा फिर्ता गरेर जसपालाई आफ्नो जालमा फसाउन चाहेको कर्णले बताए । उनले भने, ‘जे–जति मुद्दा फिर्ता भएको छ, त्यो गलत होइन, त्यो धेरै पहिले हुनुपथ्र्यो । तर, अहिले आएर फिर्ता गर्नुका पछाडि ओलीको नियत प्रष्ट छ ।’
उनी भन्छन्, ‘२०६५ मा फिर्ता गर्दा हुन्थ्यो, २०७० मा गर्दा हुन्थ्यो, २०७२ मा फिर्ता गर्दा हुन्थ्यो । तर, त्यतिबेला फिर्ता भएन । अहिले आएर किन फिर्ता भयो, यो कुरा मधेसी जनताले राम्रोसँग बुझेका छन् । राजनीतिक मुद्दालाई प्रधानमन्त्री ओलीले सत्ता टिकाउने भर्याङ बनाइरहेका छन् ।’
प्रधानमन्त्री ओलीले मुद्दा फिर्ता गरेपछि जसपा विभाजनको संघारमा पुगेको छ । सरकारसँग वार्ताको विषयमा जसपामा मतान्तर चलिरहेका बेला मुद्दा फिर्ताले मधेसमा ओलीप्रति जुन सोच थियो, त्यसमा कुनै फरक नपार्ने बताउँदै विश्लेषक लाभले मुद्दा फिर्ताले केही परिवारलाई राहत मिले पनि ओलीप्रति मधेस सकारात्मक हुन नसक्ने बताए ।
प्रधानमन्त्री ओली नेकपाका तर्फबाट प्रधानमन्त्री हुँदा र त्यसको अध्यक्ष हुँदा मधेसलाई याद नगरेको तर, अल्पमतमा परेर आफूलाई कमजोर ठानेपछि मधेसलाई सम्झेको चन्द्रकिशोरले टिप्पणी गरे । यही कारणले मधेसी जनता ओलीप्रति सकारात्मक हुन नसकेको उनले बताए ।
यद्यपि मुद्दा फिर्ता भएपछि धेरै परिवारमा राहत मिलेको र परिवारमा खुशीयाली आएको चन्द्र किशोर बताउँछन् । तर, समग्र मधेसले ओलीलाई अझैसम्म सकारात्मकरुपमा नलिएको उनले बताए । ‘मुद्दा फिर्ता, बन्दी रिहाइ मधेसको गौण माग हो, मुख्य माग मधेसमाथि गरिएको विभेदको अन्त्य, मधेसको पहिचान र अधिकारलाई स्थापित गराउनु हो,’ उनले भने, ‘यसमा राज्यले प्रवेश नै गर्न चाहेको छैन ।’

