काठमाडौँ, मङ्सिर १९ गते । विश्वका ३५ मुलुकमा देखिएको कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतमा देखिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । सरकारले ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरे पनि भारततर्फ सहजै आउजाउ हुँदा नयाँ भाइरस नेपाल प्रवेश गर्न सक्नेप्रति स्वास्थ्यविज्ञ चिन्तित छन् ।
भारतमा ओमिक्रोन भाइरस देखिएकाले नेपालमा देखापर्ने निश्चित भएको दाबी गर्दै वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने, “ओमिक्रोन प्रवेश हुन नदिन उपाय अवलम्बन गर्नुपर्छ । सङ्क्रमण अत्यधिक भएर बन्दाबन्दीको अवस्था आउँदा समस्या पर्छ ।” उनले केही दिनअघि अफ्रिकी मुलुकमा देखापरेको ओमिक्रोन युरोप तथा एसियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिँदै गएको भन्दै ओमिक्रोन भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न सरकार र समुदायस्तरबाटै पहल गरिनुपर्ने सुझाव दिए । विशेषज्ञ डा. सुवेदीले दक्षिण अफ्रिकामा खोप नलगाएका व्यक्ति ओमिक्रोनबाट बढी सङ्क्रमित भएकाले नेपालमा पनि सबैले खोप लगाउनैपर्ने बताए ।
