काठमाडौँ – दुई दिनमा २८ अर्ब ८७ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ। महालेखा नियन्त्रणको कार्यालयको तथ्याङ्क अनुसार पुस २४ गते १७ अर्ब ४० करोड ९८ लाख र पुस २५ गते ११ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
हरेको महिनाको २३, २४ र २५ गते औसत दिनको तुलनामा बढी राजस्व सङ्कलन हुने गर्दछ। करदाताले हरेक महिनाको कारोबार विवरण महिना समाप्त भएको २५ गतेभित्र आन्तरिक राजस्व कार्यालयमा बुझाएर मूल्य अभिवृद्धि कर दाखिला गर्नुपर्ने सरकारी मापदण्ड छ। त्यस्तै अग्रिम (टिडिएस) पनि २५ गतेभित्र नै बुझाउनु पर्ने हुन्छ।
नेपाल राष्ट्र बैंकको आम्दानीबाट सरकारले पाउनुपर्ने लाभांश पनि यस पटक भने पौष महिना भित्रै आएको कारण राजस्व तुलनात्मक रूपमा बढी देखिएको अर्थ मन्त्रालयले जनाएको छ । मङ्गलवार कर राजस्व सात अर्ब तीन करोड र गैर कर राजस्व १० अर्ब ३७ करोड ९८ लाख उठेको छ। गैर कर राजस्व मध्ये १० अर्ब रुपैयाँ राष्ट्र बैंकले लाभांशबापतको रकम राजस्व खातामा जम्मा गरेको हो। ब्याज, जरिवाना, लाभांश, रोयल्टी लगायतको रकम गैर कर राजस्व अन्तर्गत पर्छ।
त्यस्तै बुधबार १० अर्ब २१ करोड १० लाख रुपैयाँ कर राजस्व र एक अर्ब २४ करोड ८५ लाख रुपैयाँ गैर कर राजस्व उठेको छ। अर्थ मन्त्रालयले पुस महिनामा मात्रै एक खर्ब ८८ अर्ब रुपैयाँको राजस्व उठाउने लक्ष्य राखेको थियो।
पुस २५ गते कार्यालय समयसम्म ७९ अर्ब रुपैयाँ राजस्व उठेको छ। राजस्व प्रशासनले पुस महिनालाई राजस्वको आधार महिनाको रूपमा लिने गर्छन्। पुस महिनामा उठ्ने राजस्वले आगामी ६ महिनामा उठ्ने राजस्व निर्धारणमा सहयोग पुग्ने राजस्व कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९–८० मा नौ खर्ब ५७ अर्ब रुपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २५ अर्ब रुपैयाँ राजस्व उठेको थियो।
