कान्तिपुर पब्लिकेसन र कान्तिपुर टेलिभिजन नेटवर्क दुवै कम्पनी पब्लिकमा रूपान्तरण भएका छन्। उनीहरूले प्रालि रहेको कम्पनीहरूलाई लिमिटेडमा रूपान्तरण गरेको कम्पनी रजिष्ट्रारकाे कार्यालयले जनाएको छ।
पब्लिकमा रूपान्तरण भएसँगै नेपालमा प्रतिष्ठित सञ्चार गृहले सर्वसाधारणलाई समेत शेयरधनी बनाउने बाटो खुलेको छ। कम्पनीले चाहे पब्लिकमा रूपान्तरण भएको एक वर्षपछि पब्लिकलाई शेयर जारी गर्न सक्छ। किनकि सर्वसाधारणलाई शेयर जारी गर्ने कम्पनीले पब्लिकमा रूपान्तरण भएको एक वर्षपछि सार्वजनिक निष्काशन गर्न पाउने प्रावधान छ। कम्पनीले सर्वसाधारणमा शेयर जारी गरे कान्तिपुर सञ्चार गृहकोतर्फबाट शेयर जारी गर्ने पहिलो कम्पनी बन्नेछ। किनकि यस अघि कुनै पनि सञ्चारगृह पब्लिकमा रूपान्तरण भए पनि उनीहरू कसैले पनि सर्वसाधारणलाई शेयर जारी गरेका छैनन्।
कान्तिपुरले कम्पनीलाई पब्लिकमा रूपान्तरण गरेर नयाँ अध्यायको सुरुवात गरेको छ। यस अघि पब्लिकेशन कम्पनी पब्लिकमा रूपान्तरण हुने गरेका थिएनन्। अन्तर्राष्ट्रिय जगतमा भने पब्लिकेशनहरुले समेत सर्वसाधारणलाई शेयर जारी गर्ने गरेका छन्। तर नेपालमा भने अहिलेसम्म कुनै पनि पब्लिकेशनले सर्वसाधारणमा शेयर जारी गरेका छैनन्।
अमेरिकाको प्रसिद्ध छापा पत्रिका वासिङ्टन पोस्ट पब्लिक कम्पनी हो। उसले सर्वसाधारणलाई समेत शेयर जारी गरेको छ। उसले सर्वसाधारणको लागि जारी गरेको शेयर अमेरिकाको न्युयाेर्क स्टक एक्सचेन्जमा सूचीकृत छ। उसले सन् १९७१ मा कम्पनीलाई पब्लिकमा लगेको हो।
यसो त छिमेकी राष्ट्र भारतका प्रसिद्ध सञ्चार कम्पनी पनि पब्लिकमा रूपान्तरण भएका छन्। हिन्दुस्तान टाइम्स, जागरण र इन्डिया टुडे पब्लिक कम्पनी हुन्। उनीहरूका शेयर दोस्रो बजारमा समेत किनबेच हुने गरेका छन्।
तर, नेपालमा पब्लिक भएका सबै कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्नै पर्छ भन्ने बाध्यात्मक कानुन छैन। जसको कारण अहिले पनि हजारौँको सङ्ख्यामा पब्लिक कम्पनी भएपनि उनीहरूले शेयर जारी गरेका छैनन्। कम्पनी रजिष्ट्रारको कार्यालयको अनुसार आइतबारसम्म १६ सय ८२ कम्पनी पब्लिक रूपान्तरण भएका छन्। तर त्यसमध्ये तीन सयको हाराहारीमा रहेका कम्पनीले मात्रै सर्वसाधारण शेयर जारी गरेका छन्। नेपाल स्टक एक्सचेन्ज अनुसार शेयर जारी गरेका कम्पनीमध्ये आइतबारसम्म दुई सय १९ कम्पनी सूचीकृत छन्।
कान्तिपुर उच्च स्रोतका अनुसार कान्तिपुरको हकमा भने उसले पब्लिकमा शेयर जारी गर्ने मनसायले नै कम्पनीलाई पब्लिकमा रूपान्तरण गरेको हो। तर तत्कालै भने उसले शेयर जारी गर्ने छैन। पब्लिक रूपान्तरण गर्ने बित्तिकै शेयर जारी गर्न पाइ हाल्ने स्थिति नहुने भएकोले पनि उसले चाहेर पनि शेयर जारी गर्न नसक्ने स्रोतको भनाइ छ। उसले कम्पनीलाई पब्लिकमा रूपान्तरण गरेको विषय आफ्नो साधारण सभामा लाने तयारी गरिरहेको छ। कति प्रतिशत शेयर जारी गर्ने भन्ने विषय भने छलफलकै क्रममा छ। उसले यति प्रतिशत शेयर जारी गर्ने भन्ने विषय टुङ्गिएपछि आफ्नो साधारण सभामा शेयर जारी गर्ने प्रस्ताव लैजाने छ। साधारण सभाले अनुमित दिएपछि मात्रै शेयर जारी गर्ने विषय अघि बढ्नेछ।
हरेक काममा नम्बर वान कम्पनी बन्ने प्रयासमा काम गरिरहेको कम्पनीले पब्लिकमा समेत लगेर प्रकाशन गृह प्रति सर्वसाधारणको अपनत्व बढाउने योजनमा काम गरिरहेको छ। पब्लिकलाई शेयरधनी बनाएपछि प्रकाशन गृहमा सर्वसाधारणको थप अपनत्व बढ्ने भन्दै उसले कम्पनीलाई पब्लिक रूपान्तरण गरेको जनाएको छ।

