काठमाडौं: वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदलाई छलफलका लागि बोलाएका छन् ।
आज दिउँसो १ बजे शंखमुलस्थित सहना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूलाई छलफलको लागि बोलाइएको नेपाल समूहका सांसद मेटमणि चौधरीले जानकारी दिए ।
‘सरकारमा सहभागिताका विषयमा सांसदहरूसँग छलफलका लागि माधव नेपालले बोलाउनु भएको हो । स्थायी समितिले गरेको निर्णयको बारेमा पनि कुराकानी हुन्छ,’ उनले भने ।
माधव नेपाल समूह पनि गठबन्धन सरकारमा सहभागी हुने चर्चा छ ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठकमा माधव नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी गराइसकेका छन् ।
गठबन्धनको आजको बैठकले दुई दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गरिसक्ने निर्णय गरेको छ ।
गठबन्धनको बैठकमा नेपाल आफू उपस्थित नभए पनि डा. विजय पौडेललाई आफ्नो प्रतिनिधिको रूपमा पठाएका थिए ।

