पौष १९,काठमाडौं ।वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ। सम्मेलनको प्रथम दिन भृकुटीमन्डपमा प्रारम्भ सत्रमा सामुहिकरूपमा अन्तर्राष्ट्रिय गीत गाएर प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन शुक्रबार गरिएको हो ।सम्मेलनको उद्घाटन सत्र (प्रारम्भ सभा) काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको हो। त्यसअघि शहरका विभिन्न ठाउँबाट जुलुश भृकुटीमण्डपमा पुगेको थियो।
शुक्रबारदेखि सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ।सभामा साे पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति) क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल, नेकपाका महासचिव विप्लव, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलासहितका नेताले सम्बोधन गरेका थिए।
सम्मेलनबाट पार्टीले विचारधारात्मक तथा संगठनात्मक कार्यदिशामा थप विकास गरी प्रारम्भबाट नै वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृति निर्माणको कार्यदिशालाई अघि बढाउने वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले जनाएको छ । पार्टी नेता आहुतिले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी कुनै कम्युनिस्ट पार्टीको उत्तराधिकारी नभएर एक्काइसौं शताब्दीको प्रारम्भिक स्कुल भएको बताएका थिए ।
कार्यक्रमा वैज्ञानिक समाजवादी नेपालका हीरादेवी दास लगायतले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो। कार्यक्रममा जनवादी गायक जीवन शर्माले चाहिँदैन मलाई शिशाको महल ,सिमली छायाँमा लगायतका गीत गाएका थिए।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले सम्मेलन सफलताको शुभकामना दिएका थिए । पार्टीको तर्फबाट शुभकामना दिँदै नेता गजुरेलले भने –माक्र्सवाद पुरानो हुँदैन, माक्र्सवाद विकसित हुँदै जाने दर्शन हो, आजको सन्दर्भमा हामीले माक्र्सवादको विकास गर्नु पर्दछ । विश्व राजनीतिक परिस्थितिको चर्चा गर्दै गजुरेलले वर्षेनी १८ खर्ब रमिट्यान्स नेपाल भित्रिएको छ । यदि विश्वमा राजनीतिक उथलपुथल वा तेस्रो विश्वयुद्ध भयो भने रेमिट्यान्स आउन कमी हुनेछ त्यतिबेला नेपालको हालत के होला ? भनेर प्रश्न गर्नु भयो।

