भीमाद ८ राङरुङ बर पिपल, जेठ ३ गते शनिबार, भिमाद नगरपालिका वडा नम्बर ८ मा अवस्थित जय नेपाल आधारभूत विद्यालयमा स्वर्गीय बोधराज/ कृष्ण माया अर्याल स्मृति कोषले स्टेसनरी सामान सहित झोला वितरण गरेको छ | जय नेपाल आधारभूत विद्यालय स्थापना कालदेखि निरन्तर ३४ वर्षसम्म अध्यापन गराउनु भएका जय नेपाल आधारभूत विद्यालयका संस्थापक पूर्व शिक्षक बोधराज अर्याल तथा उहाँकी धर्मपत्नी कृष्ण माया अर्यालको स्मृतिमा प्रदान गरिएको हो। उहाँका परिवारजनको सक्रियतामा यो कार्यक्रम सम्पन्न भएको हो।
स्वर्गीय बोधराज/ कृष्णमाया स्मृति कोष भरतपुर १८ द्वारा आयोजित स्टेसनरी तथा झोला वितरण कार्यक्रममा जय नेपाल आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सुवेदीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। स्वर्गीय बोधराज अर्यालका कनिष्ठ भाइ नेपाल निवृत शिक्षक समाजका अध्यक्ष धुर्वराज शर्मा अर्याल प्रमुख अतिथि हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा करिब ३० वर्ष तत्कालीन भीमाद गाउँ पञ्चायत का प्रमुख भएर समाजसेवामा अग्रणी भूमिका खेल्नुभएका यज्ञ नारायण सुवेदी, भिमाद नगरपालिका वार्ड नं ८ जनप्रतिनिधि पार्वती परियार हुनुहुन्थ्यो। अतिथिहरूमा स्वर्गीय बोधराज/ कृष्ण माया अर्याल स्मृतिकोषका सदस्यहरू तथा स्वर्गीय धर्मराज अर्याल स्मृति कोषका सदस्यहरु हुनुहुन्थ्यो।
जय नेपाल आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई झोलासहित स्टेसनरी सामान वितरण गरिएको थियो। सो कार्यक्रममा स्वर्गीय बोधराज अर्यालको छोरी भगवती अर्याल पाण्डेले कविताको माध्यमबाट आफ्ना बुबा बोधराज अर्यालले शिक्षा क्षेत्रमा गर्नुभएको योगदान तथा उहाँका ठूलाबुवा स्वर्गीय डोलराज अर्यालको योगदानको बारेमा प्रस्तुत गर्नुभएको थियो।
सो कार्यक्रममा मन्तव्य राख्नेहरूमा विश्वराज अर्याल, वेदनिधि अर्याल, भानुभक्त अर्याल, किर्तिनिधि अर्याल, दयानिधि अर्याल, पार्वती परियार, यज्ञ नारायण सुवेदी हुनुहुन्थ्यो। प्रमुख अतिथिको मन्तव्यमा धुर्वराज शर्मा अर्यालले भिमाद राङरुङ प्रति अर्याल परिवारको स्नेह तथा प्रेमको बारेमा व्याख्या गर्नुभएको थियो। सो कार्यक्रमको समापन को क्रममा अध्यक्षता ग्रहण गर्नुभएका राजेन्द्र सुवेदीले सम्पूर्ण बोधराज अर्याल परिवार तथा धर्मराज अर्याल परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो। सो कार्यक्रम शनिबार आयोजना गरिएको भएपनि सम्पूर्ण विद्यालय शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो | सो कार्यक्रम जय नेपाल आधारभूत विद्यालयका प्र अ बुद्धि बहादुर भुजेलले सहजीकरण तथा व्यवस्थापन गर्नुभएको थियो। तस्बिर आफैं बोल्छ भनेजस्तै प्र अ बुद्धिबहादुर भुजेल को योगदान तथा उहाँका सहकर्मीहरूले गर्नुभएको शिक्षाप्रतिको एकबद्धता राम्रोसँग झल्किने देखिन्छ। २०८१ सालको आधारभूत तहको परीक्षामा नगरपालिका मध्यबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गरिन्छ | सो कार्यक्रममा सहभागी सबैले विद्यालयको शैक्षिक उन्नयनको लागि हार्दिक हार्दिक नमन गर्नुभयो।
Previous Articleआज चार संसदीय समितिका बैठक बस्दै
Next Article विकासको मेरुदण्ड स्थानीय तह र बजेटको सुनिश्चितता

