काठमाडौं: सरकारले संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिश गर्ने निर्णय गरेको बताइएको छ ।
पुन:स्थापित प्रतिनिधि सभाको अधिवेशन साउन ३ गते शुरू भएको थियो । सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए ।
अधिवेशन अन्त्य गरी केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रतिपक्षी दल एमालेले दल विभाजनसम्बन्धी अध्यादेश आउन सक्ने आशंका गरेको छ ।
एमालेको माधव नेपाल पक्षसँग दल विभाजनका लागि आवश्यक ४० प्रतिशत संख्या छैन ।
त्यसैलाई सहजीकरण गर्ने गरी अध्यादेश आउनसक्ने आशंका एमालेका नेताहरूले व्यक्त गर्दै आएका छन् ।
जसपाको महन्थ ठाकुर पक्ष पनि दलविहीन भइरहेका बेला उनीहरूलाई पनि अध्यादेश आवश्यक परेको छ ।

