मोरङ: नगर क्षेत्रका निजी विद्यालय र प्लस टु सञ्चालकलाई अनलाइन अध्यापन अवधिमा मासिक ५० प्रतिशत मात्र शुल्क लिन विराटनगर महानगरपालिकाले निर्देशन दिएको छ ।
तर महानगरको निर्देशनलाई लिएर निजी विद्यालय सञ्चालकहरूले असन्तुस्टी जनाएका छन् ।
निजी विद्यालय सञ्चालकहरूले सरोकारवालासँग समन्वय नगरी महानगरले एकलौटी निर्णय गरेको भन्दै निर्देशनको पालना नगर्ने बताएका छन् ।
विद्यालयले अनलाइन कक्षा पढाउँदा पनि जबर्जस्ती साबिककै चर्को शुल्क लिएको चार सयभन्दा बढी उजुरी परेपछि महानगरको बोर्ड बैठकले अनलाइन अवधिमा ५० प्रतिशतमात्र शुल्क लिन निर्देशन दिएको समाचार छ ।
अभिभावकको सहमतिबिना विद्यालय र प्लस टु सञ्चालकहरूले अनलाइन अध्यापन अवधिमा चर्को शुल्क लिएको अभिभावकले गुनासो गरेपछि महानगरको बोर्ड बैठकले त्यस्तो निर्देशन दिँदै अवज्ञा गरे कारबाही गर्ने निर्णय गरेको छ ।
महानगर क्षेत्रमा बालविकास संस्थाबाहेक सार्वजनिक, संस्थागत विद्यालय, मदरसा र प्लस टु गरेर १ सय ८१ वटा शिक्षण संस्था छन् ।
ती संस्थामा ७० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

