नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई छिटाे पदमुक्त गर्न सभामुख अग्नि सापकाेटाकाे ध्यानाकर्षण गराएकाे छ।
बिहीबार सभामुखकाे कार्यकक्षमै पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चाैधरीसहितका सांसदहरुले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई छिटाे पदमुक्त गर्न दबाब दिएका हुन्।
एमालेले माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चाैधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गरि साेही व्यहाेराकाे पत्र संसद सचिवालयमा दर्ता गरेकाे थियाे।
यसरी संसद सचिवालयमा कारबाही गरिएकाे व्यहाेराकाे पत्र दर्ता भएकाे १५ दिनभित्र संसद चलेकाे भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने संसदीय परम्परा छ।
सभामुखकाे ध्यानाकर्षण गराउन प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चाैधरीसहित सांसदहरु कृष्णभक्त पोखरेल, खगराज अधिकारी, महेश बस्नेत, निरु पाल गरि १४ सांसद पुगेका थिए।
सभामुखकाे ध्यानार्षण गराएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले यसअघि यसरी नै गरिएकाे कारबाहीमा सभामुखले तुरुन्तै सूचना जारी गरेकाेले अहिले ढिलाे गरेर चलखेल गर्न नहुने बताए।
उनले भने, ‘सरिता गिरीसहित माओवादी छाडेकाहरुलाई पनि कारबाही गरिएकाे पत्र आएको केही घण्टामै सूचना जारी भएको थियो। हाम्रो हकमा किन ढिलाइ गर्नुभयो भनेर ध्यानाकर्षण गराएका छाैँ।’
एमालेकाे ध्यानाकर्षणपछि सभामुख सापकाेटाले यसबारेमा आफूले अध्ययन गरिरहेकाे बताएका छन्। उनले प्रचलित कानून अनुसार निर्णय लिने जवाफ दिएकाे सचेतक भट्टराईले बताए।

