काठमाडौं ।
संघीय संसदको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैका बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारलाई विपद् प्रतिकार्य थप प्रभावकारी बनाउन आग्रह गरेका छन्।
बैठकको सुरुवातमा राष्ट्रिय स्वाधिनता र गणतन्त्र स्थापनाका लागि बलिदान दिने सहिद, वेपत्ता तथा घाइते योद्धाप्रति श्रद्धाञ्जलि अर्पण गरेका प्रचण्डले रसुवा लगायत देशका धेरै भागहरूमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएको उल्लेख गर्दै हिमाली क्षेत्रहरू जलवायु संकटको ‘हटस्पट’ बन्दै गएकोमा गम्भीर चिन्ता प्रकट गरे।
उहाँले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने, नदी थुनिने र अनपेक्षित बाढीको खतरा बढ्दो रहेको उल्लेख गर्दै यस्ता प्राकृतिक जोखिम न्यूनिकरणका लागि अन्तर्देशीय सूचना प्रणाली सुदृढ पार्नुका साथै अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य रहेको धारणा राखे।
गत वर्ष राजधानीमै उद्धार ढिलो हुँदा भएको नागरिकको निधनको घटनालाई स्मरण गराउँदै प्रचण्डले यस वर्ष यस्ता त्रासदी दोहोरिन नदिन सरकारलाई गम्भीर र समयमै तयारी गर्न आग्रह गरे।
“विपद् व्यवस्थापन केवल सरकारको काम होइन, यो सामूहिक जिम्मेवारी हो,” प्रचण्डले जोड दिँदै भने, “हामी, माओवादी केन्द्र, वाइसिएल र हाम्रो जनवर्गीय संगठनहरू अहिले पनि प्रभावित क्षेत्रमा सक्रिय रूपमा राहत तथा उद्धारमा खटिएका छौं।”
अन्त्यमा, विपद् प्रतिकार्यमा खटिनेलाई धन्यवाद दिँदै उहाँले सबै तहको सरकार र निकायलाई संकटको समयमा जनताको विश्वास जित्ने गरी चाँडो, प्रभावकारी र समन्वित प्रयास गर्न आग्रह गरे।

