काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले साउन २१ देखि २५ गतेसम्म “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५” आयोजना गर्ने भएको छ। राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार, यो नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हुनेछ, जहाँ ३५ वटा नयाँ सवारी साधन सार्वजनिक गरिनेछन्।
के-के छन् एक्स्पोका मुख्य आकर्षण ?
नयाँ प्रविधि र मोडल: एक्स्पोमा नयाँ प्रविधिका साथै विद्युतीय सवारी साधन र नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिनेछन्। यसमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरू सार्वजनिक हुनेछन्।
५० भन्दा बढी ब्राण्डहरू: यसपटकको प्रदर्शनीमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूको सहभागिता रहनेछ।शिक्षामा योगदान: एक्स्पोमा बिक्री भएका टिकटहरूको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रमा छात्रवृत्ति र फेलोशिप प्रदान गर्न प्रयोग गरिनेछ।ज्ञानवर्धक सत्रहरू: प्रदर्शनीको पाँचौं दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा प्यानल डिस्कसन आयोजना हुनेछ। पहिलो दिन अनिल केशरी शाहले “मोबिलिटी हिजो, आज, र भोलि” विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्नेछन्। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता संस्थाहरूका विज्ञहरू पनि विभिन्न सत्रहरूमा सहभागी हुनेछन्।
आयोजकको तयारी र अपेक्षा
नाइमाका अध्यक्ष रितु सिंह वैद्यले यस एक्स्पो नेपालकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरेकी छिन्। आयोजकले ८० हजार दर्शक तथा आगन्तुकले एक्स्पो अवलोकन गर्ने अपेक्षा राखेका छन्।
यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थल मा आयोजना हुँदैछ। अटो एक्स्पो समितिका प्रमुख शिरीष कुमार मुरारकाले भृकुटीमण्डपको भौतिक पूर्वाधारमा गरिएको सुधार—विशेषतः जल निकासी र अपाङ्गमैत्री पूर्वाधार—उल्लेखनीय रहेको बताए।
प्रायोजकहरूको साथमा विशेष व्यवस्था, पठाओद्वारा ३० प्रतिशत छुट, फ्रन्टलाईनको स्वास्थ्य जाँच
एभरेस्ट बैंक लिमिटेड र नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेड मुख्य प्रायोजक रहेका छन्। यसबाहेक, खल्ती बाई आईएमई टिकटिंग पार्टनर, माउन्टेन ड्यू बेभरेज पार्टनर, हिमालयन जाभा ब्रुइङ पार्टनर, पठाओ राइड पार्टनर, एचआईके भिजन सर्भेलेन्स पार्टनर, वर्ल्डलिङ्क कनेक्टिभिटी पार्टनर, सोल्टी होटल हस्पिट्यालिटी पार्टनर, फ्रन्टलाइन हस्पिटल मेडिकल पार्टनर, र एनसेल टेलिकम पार्टनरका रूपमा रहेका छन्। मिडिया स्पेस सोलुसनले व्यवस्थापन पार्टनरको भूमिका निर्वाह गर्नेछ।
आगन्तुकहरूको सुविधाका लागि प्रायोजक कम्पनीहरूले विशेष व्यवस्था गरेका छन्। राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्मको छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा २४ सै घण्टा एम्बुलेन्ससहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्नेछ।
अनलाइन प्रतियोगिता, सर्वोत्कृष्टलाई एक लाख
नाइमाले प्रदर्शनीलाई लक्षित गरी विशेष अनलाइन प्रतियोगिता पनि आयोजना गरेको छ। साउन २१ सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई रु १ लाख नगद पुरस्कार प्रदान गरिनेछ। साउन २१ देखि २५ सम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरूलाई भने प्रत्येकलाई रु १०,००० नगद पुरस्कार दिइनेछ।

