मुस्ताङ । धार्मिक तथा पर्यटकीय गन्तव्य मुस्ताङमा तिहारलगत्तै पर्यटकको भीड बढेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार मात्रै छ हजार ८५९ जना पर्यटक मुस्ताङ प्रवेश गरेका छन्।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिने आन्तरिक तथा विदेशी पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
मुक्तिनाथ दर्शनका लागि भीड
प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार शुक्रबार एकैदिन छ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। सोही दिन दुई हजार १६८ वटा सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएका थिए।
मुक्तिनाथ दर्शन र मुस्ताङको प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आउने दर्शनार्थीले भाइटीका सकिएलगत्तै बेनी–जोमसोम सडकमार्गलाई अत्यधिक व्यस्त बनाएको प्रहरीको भनाइ छ।
एक सातामै २० हजारभन्दा बढी पर्यटक
प्रहरी तथ्याङ्कअनुसार कात्तिक १ देखि ७ गतेसम्म २० हजार ५०९ जना पर्यटक मुस्ताङ भित्रिएका छन्।
त्यसमध्ये १७ हजार १२९ आन्तरिक र ३ हजार ३८० विदेशी पर्यटक रहेका छन्।
यस अवधिमा ६ हजार ७३६ सवारीसाधन मुस्ताङ पुगेका थिए।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्र १ लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ पुगेका छन्, जसमा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी रहेका थिए।
मुक्तिनाथमा खचाखच भीड
मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङका अनुसार तिहारपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको संख्यामा अत्यधिक वृद्धि भएको छ।
“आज बिहानैदेखि मन्दिर परिसर दर्शनार्थीले खचाखच भरिएको छ,” गुरुङले भने।
दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी, सीसी क्यामेरा जडान र स्वयंसेवक परिचालन गरिएको समितिले जनाएको छ।
त्यसैगरी हिउँदयाम सुरु भइसकेकाले हाइअल्टिच्युड समस्या हुन नदिन स्वास्थ्यकर्मी र ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखिएको छ।
होटल भरिए, ट्राफिक जाम
अचानक पर्यटकको चाप बढेपछि बेनी–जोमसोम सडकमार्गमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको प्रहरीले जनाएको छ।
मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्मका करिब ३०० होटल पर्यटकले भरिएपछि व्यवस्थापनमा चुनौती उत्पन्न भएको हो।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार चाडपर्वका बेला मुस्ताङ घुम्न आउने पर्यटकको संख्यामा “अकल्पनीय वृद्धि” भएको छ।
उनका अनुसार विद्यालयका विद्यार्थी, सरकारी कर्मचारी र विदेशबाट फर्किएका नेपाली समेत पारिवारिक भ्रमणमा मुस्ताङ पुगेका छन्।
सडक विस्तारले पर्यटनमा नयाँ उभार
राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै जान थालेपछि मुस्ताङको पर्यटन व्यवसायमा नयाँ उभार आएको स्थानीय व्यवसायीहरू बताउँछन्।
प्रहरीले चाडपर्वका समयमा मुस्ताङ भ्रमण गर्न इच्छुक पर्यटकलाई पहिले नै होटल बुकिङ गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

