कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा भ्रष्टाचार गरेको आरोप लागेका निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् ।
सोमबार उनको विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बयान भइरहेको विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले जानकारी दिए ।
कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको अख्तियारको भनाइ छ । बयानपछि उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ
