इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते सामूहिक बलात्कार भएको हो
ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले कुटपिट गरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कुटपिटपछि धान खेतमा लगेर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।
बलात्कारपछि ती महिलाको दुई तोला चार आनाको सुनको सिक्री र नगद तीन हजार लुटपाट भएको उनले बताए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये चार जना नाबालक १८ वर्ष मुनिका छन्।
बलात्कारपछि लुटपाट भएको उजुरी लिएर ती महिला प्रहरीमा आइपुगेकी थिइन्, उनले दिएको हुलियाका आधारमा पाँच जनालाई पक्राउ गरिएको छ, थापाले भने, ‘पीडितको शारीरिक जाँचसमेतका आधारमा जबरजस्ती करणी कसुरमा हिरासतमा राखी अनुसन्धान सुरू गरिएको छ। पक्राउ परेकामध्ये इटहरी १४ का सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ।
