पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाइ हुँदैछ।
अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश चालेन्द्र शमशरे राणा र नहकुल सुवेदीको इजलासको पहिलो नम्बरमा पेशी तोकिएको छ।
ललिता निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका लेखेको अभियोगमा १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरे पनि नेपाल र भट्टराईलाई छाडेको भन्दै न्यौपानले रिट निवेदन दिएका हुन्। नेपाल र भट्टराई प्रधानमन्त्री हुँदा सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउन महत्वपूर्ण निर्णय भएको थियो।
अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध भने मुद्दा नचलाउने भनि गरेको निर्णय बदर गर्दै पुरक मुद्दा चलाउन माग गरिएको छ।
पूर्वप्रधानमन्त्रीद्वय विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाउन आदेश माग्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि २०७७ चैत १६ गते उक्त मुद्दाको पेसी रहेको थियो। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले सुनुवाइ गर्दै पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरूद्ध मुद्दा चलाउने या नचलाउने विषयमा प्रमाण पेस गर्न विशेष अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आवश्यक फाइल माग गर्ने आदेश गरेको थियो। त्यस्तै अख्तियारले मुद्दा नचाउने भनि गरेको निर्णय पनि पेश गर्न इजलासले भनेको थियो।
नेपाल २०६६–२०६७ सालमा प्रधानमन्त्री थिए। भट्टराई भने २०६९ मा प्रधानमन्त्री थिए। माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले प्रधानमन्त्री निवास बालुवाटार विस्तार गर्ने निर्णय गरेको थियो।
त्यसरी विस्तार गर्दा व्यक्तिका नाममा भएका जग्गा सट्टापट्टा गर्ने निर्णय भयो। त्यही निर्णयको आधारमा नक्कली मोही खडा गरेर बालुवाटारको जग्गा व्यक्तिका नाममा पुर्याइएको थियो।
नक्कली मोही खडा गरेर बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याएको आरोप बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारलाई पनि लागेको छ। नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री रहेका विजयकुमार गच्छदार र भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ थिए भने भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री चन्द्रदेव जोशी थिए। उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ र उनीहरु धरौटी र तारिखमा रिहा भएका छन्।
