काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँको नवौँ दिन नवकन्याहरूको पूजा गरेकी छन् । बिहीवार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारीले नवकन्याहरूको पूजा गरेकी हुन् ।
बडादसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।
बडादसैँको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः दुई, तीन, चार, पाँच, छ, सात, आठ र नौ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरूको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरूलाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिएको हो ।
यसै क्रममा राष्ट्रपति भण्डारीले महानवमीको दिन शीतलनिवासमै नवकन्याहरूको पूजा गरेकी हुन् ।
