नेपाल पत्रकार महासंघले महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।
राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ’, महासंघले विज्ञप्तिमार्फत भनेको छ ।
महासंघका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको उल्लेख छ ।
गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजना को बुँदा ३.५. मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरुमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ’ भन्ने व्यवस्था रहेको छ । उक्त बुँदा कार्यान्वयनका लागि केन्द्रीय समिति प्रतिवद्ध रहेको जानकारी समेत महासंघले जनाएको छ ।
महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गरी महासंघको विधान विपरीत राजनीतिक दल वा उसका भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेकाहरूको सदस्यता खारेज गरिने चेतावनी दिएका छन्।
यस्तै‚ महासंघको विधान २०६० (पाँचौँ संशोधन२०७६)ले ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको विज्ञप्तिमा जनाइएको छ। राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गरेको छ।
कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्र रहेको महासंघले स्मरण गराएको छ।


