काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठन नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनले मंसिर ७ गते काठमाडौंमा ‘राजनीतिक समस्याः सन्दर्भ एमसीसी, जनगणना र महँगी’ विषयक अन्तर्कृया सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि सोही पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ तथा अतिथिहरुमा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणी पोख्रेल, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिताराम तामाङ, जनअधिकार अभियानका अध्यक्ष एकराज भण्डारी, नेकपाका केन्द्रिय सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका फाक्सन इन्चार्ज अनिल शर्मा ‘विरही’, महिला संगठनका अध्यक्ष वन्धु चन्द, विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, पार्टीका केन्द्रिय सदस्य आजात के.सी. लगायतका महानुभावको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धर्मेन्द्र वास्तोलाले एमसीसी परियोजनामा नेपाललाई सैनिक अखडा कायम गर्ने र चीनलाई घेर्ने रणनीति रणनीति रहेको वताउनु भयो। उहाँले भन्नुभयो “हाम्रो देश अन्तराष्ट्रिय युद्धथलो हुने खतरा भएकोले यसलाई रोक्नु पर्छ । कुनै पनि हालतमा एमसीसीलाई सम्पूर्ण रुपमा खारेज गर्नु पर्दछ । जनताको सचेत पहल र आन्दोलनले मात्रै यो सम्भव छ।” देशमा भइरहेको जनगणना र महँगीको विषयमा उहाँले अगाडी थप्नु भयो , ‘महँगी बेहिसाव तरिकाले बढेको छ, पेट्रोलियम पदार्थमा महँगी बढेपछि दशौं ठाउँमा त्यसको प्रभाव पर्छ, हामीले उत्पाद नगर्ने विजुलीमा समेत महँगीको असर पर्छ । लिपुलेक लिम्पियाधुरा, कालापानीमा मात्रै होइन महेसपुर, सुस्तामा पनि जनगणना हुन पर्दछ ।” तर यो सरकारले त्यो ठाउँमा जनगणना पनि गर्न सक्दैन भन्ने उहाँको जिकिर थियो ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोख्रोलले एमसीसीका विषयमा तथ्यगत आधारमा रही प्रमाणका साथ आफ्नो मन्तव्य राख्नुभयो । उहाँले भन्नुभयो, “एमसीसी नेपालको माग गरेको होइन, कुनैपनि अनुदानलाई सन्धी बनाउनु षडयन्त्र हो । यसले हाम्रो सार्वभौमिकतामाथि हस्तक्षेप गर्दछ । अमेरिकी कानुन सिधै नेपालमा लागु हुन्छ । यसलाई संशोधन गरेर लागु गर्नु भन्दा खारेज नै गर्नुपर्छ ।” कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिताराम तामाङ्गले आफ्नो विचार राख्दै भन्नुभयो, “महाकाली बेच्ने सबभन्दा ठूला राष्ट्रवादी नेता भए । महाकाली बेच्ने नै प्रधानमन्त्री भए । एमसीसीका परियोजनाका सवै प्रक्रियामा भारतको स्वीकृति चाहिनु हाम्रो लागि खतरा हो । सशक्त आन्दोलनमा जनतालाई उतारी एमसीसी खारेज गर्नु पर्छ ।”
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले समेत पनि आफ्नो बिचार राख्नु भएको थियो । उहाँले भन्नुभयो, “एमसीसीपूर्ण रुपमा खारेज गर्नु पर्छ । विशुद्ध आर्थिक सहयोगलाईमात्र हामीले स्वीकार्नु पर्छ । चुच्चे नक्सालाई कार्यान्वय नगर्ने हो भने लिपुलेक–कालापानीमा जनगणना हुनुपर्दछ ।”
नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको कार्यक्रममा जनअधिकार अभियानका अध्यक्ष एकराज भण्डारीले आफ्नो विचार राख्दै भन्नुभयो, “सरकारले तिनबुँदेलाई कार्यान्वयन गरेको छैन।अझै थुप्रै नेता कार्यकर्ताहरु जेलमा छन् । उनीहरुलाई विभिन्न अपराधको झुठो मुद्दा लगाएर राखेको छ ।” उहाँले थप्नु भयो,” सरकार अहिलेपनि अध्यादेशबाट चलिराखेको छ । स्वास्थ्य, शिक्षा र रोजगार दलालको हातमा छ । अदालतमा समेत गाइजात्रा छ ।”
कार्यक्रम नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रिय सदस्य खुम्बु चन्दको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन संगठनका सेक्रेटरी देवकलाले गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित अतिथिहरुलाई तथा महानुभावहरुलाई काठमाडौं बुद्धिजीवी संगठनका अध्यक्ष सफलले स्वागत गर्नु भएको थियो ।

