जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ । मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ ।
बुधबार राति सम्पन्न कार्यकारिणी समितिको बैठकबाट प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय भएको जसपाका प्रचार विभाग प्रमुख एवं कार्यकारिणी सदस्य डम्बर खतिवडाले बताए । अर्को निर्णय नआउन्जेलसम्मका लागि सांसद यादवलाई केन्द्रीय समितिबाट निष्काशन गरिएको उनले बताए ।
अध्यक्ष भट्टराईले सांसद यादवबाट गल्ती भएको ठहर गर्दै उनीमाथि अनुशासनको कारवाही हुनुपर्ने तर साधारण सदस्यबाटै हटाउन उचित नहुने धारणा राखेका थिए । कार्यकारिणी सदस्य इस्तियाक राईले पनि यादवलाई साधारण सदस्यबाट निष्काशन गर्दा पार्टीलाई घाटा हुने धारणा राखेको स्रोत बताउँछ ।
बैठकमा पार्टीका कार्यकारिणी सदस्यहरु अशोक राई, नवराज सुवेदी, गंगा श्रेष्ठ, मनिष सुमन, राजकिशोर यादव, प्रशान्त सिंह, रेणु यादवलगायतका नेताहरुले प्रदीप यादवबाट गल्ती भए पनि साधारण सदस्यबाटै हटाउन नहुने धारणा राखेका थिए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि प्रदीप यादवलाई कारवाही गर्ने पक्षमा आफू नरहेको तर पार्टीभित्र अनुशासन कायम गर्नका लागि कुनै न कुनै कारवाही गर्नुपर्ने धारणा राखेका थिए । ‘प्रदीप मेरो छोराजस्तै हो, उनी मसँगै बस्छन्, म उनलाई राजनीतिक कुराहरु धेरै सिकाइरहेका हुन्छु, तर उनको व्यवहार केटाकेटी जस्तो छ,’ अध्यक्ष यादवका भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।
प्रदीप यादवले आफ्नो पुतला जलाएको भन्दा पनि पार्टीको झण्डा जलाउनु र पार्टी कार्यालयमा तोडफोड गर्न लगाउनु ठूलो गल्ती भएको अध्यक्ष यादवको भनाइ थियो । ‘उनले जे गल्ती गरेका छन्, त्यसका आधारमा पार्टीबाटै निष्काशन गर्नुपर्ने हो तर त्यहाँसम्म नजाउँ, केन्द्रीय सदस्यबाट निष्काशन गर्दासम्म हुन्छ,’ अध्यक्ष यादवले बैठकमा प्रस्ताव राख्दै भनेका थिए । उनको प्रस्तावमा सबैले सहमति जनाएको स्रोत बताउँछ ।
सांसद प्रदीप यादवलाई यसअघि पनि कारवाही भइसकेको हो । लातभियाको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा पार्टीको नीति विपरीत तथा पार्टीलाई जानकारी नगराई भाग लिन गएको भन्दै सांसद यादवलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको थियो ।

