काठमाडौँ, मङ्सिर १६ गते । नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
संयोजक घिमिरेले भने, “काँग्रेसको प्रदेश अधिवेशन पहिलो पटक हुन लागेकाले नेता–कार्यकर्ता उत्साहित भएको पाएको छु । केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन अधिकृत खटाएको छ । बिहीबारदेखि अधिवेशनको कार्यक्रम सुरु हुन्छ ।”
समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । बिहीबार मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । शुुक्रबार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ ।
