राेशनी बाँस्काेटा
म, झुत्रिएको पटुकिको अर्थतन्त्रमा
घरबार अल्झाउछु,
यसैको आधारमा तिमी दरबार!!
वहाँ सरकार!
बर्षौ नफेरिएको पटुकिले त
पसिनाको मोल बुझ्छ,
बजेट चुहावटको खोल कहिले सम्म तिमी ओढी रहन्छौ?
तिम्रो “कर”ले यहाँ, “घर” ढल्दैछ सरकार!!
बजेट! खै कहाँ छ?
रित्तो पेटमा पनि पटुकी कै काम चल्दैछ सरकार!!
भो! रेलको खेलमा झेल नगर!
तुईनमै पनि ढुक्ढुकी त चल्दैछ सरकार!
खोला तार, बिन्ती! परदेश नतार।।
म, खाली खुट्टाले राष्ट्रियताको रङ्ग भर्न सक्छु,
लासमा पनि राजनीति गरी तिमी किन दङ्ग छौ?
स्वतन्त्र भै बाँच्न मन छ सरकार!
निर्मलाको आत्माले झस्काइ रहन्छ,
म पनि त नारी हुँ भगवतिको भाबले चस्काइ रहन्छ!
अरु मिलेरै गरौला बरु, निमुखाको पनि
बाँच्न पाउने अधिकार पहिले सुनिस्चित गर सरकार!!
रोजगार नभए त के भो!
पटुकीको अर्थतन्त्रमा घरबार चलाई रहौला!
पाँचथर, हाल कीर्तिपुर काठमाडौं

