काठमाडौँ । गत साता उच्च विन्दुमा कारोबार भएको सुनको मूल्यमा यस साता भने गिरावट देखिएको छ । साताभर भएको कारोबारमा सुन तोलामा एक हजार रुपैयाँले सस्तिएको हो ।
यो साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य मङ्गलवारसम्म एक लाख २१ हजारसम्म पुगेको थियो भने त्यसपछि क्रमशः घट्दै गएको थियो। बुधवार र बिहीबार सुनको भाउ सामान्य घटेको थियो । साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य स्थिर रहेर अघिल्लो दिनकै मूल्य कायम भयो । यो मूल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन १,००० रुपैयाँले कम हो ।
यसै गरी, चाँदीको मूल्य पनि नेपाली बजारमा यस साता घटेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँ रहेको चाँदीको मूल्य तेस्रो दिन एक हजार ४६० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रवार प्रतितोला एक हजार ४२० रुपैयाँ कायम भयो।
सुनको भाउ घट्नुको कारण यस साता विश्व बजारमा सुनको मूल्यमा आएको कमी हो । अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतीका कारण मूल्यमा कमी आएको विश्लेषकहरूले अनुमान गरेका छन् । यद्यपि सन् २०२४ मा सुनको मूल्यले उच्च रेकर्ड कायम गर्ने प्रक्षेपण भने भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले त्यो अवस्था देखाएको विभिन्न रिसर्चहरुले उल्लेख गरेका छन्।
