काठमाडौँ: वैशाखदेखि बन्द भएर आज खुलेको आन्तरिक उडान सरकारले तोकेको उडान संख्या भरिन थालेका छन्।
सरकारले पचास प्रतिशत उडान संख्यामात्र खोल्ने निर्णय गरेको थियो। सोहीअनुसार आजदेखि सुरु भएको उडानमा ८० प्रतिशतभन्दा बढी बुकिङ भएको एयरलाइन्सहरुले जानकारी दिएका छन्।
यसरी बुकिङ बढ्दै गएमा एक/दुई दिनभित्रै तोकिएका उडान भरिने र भाडा बढ्नसक्ने एयरलाइन्सहरुले चेतावनी दिएका छन्।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बुद्ध एयरका ३ हजार ८ सय सिटमध्ये ३ हजार ५ सय बुकिङ भएको छ।
‘यात्रुहरुको उत्साह देखिएको छ। मान्छेमा सुरक्षित यात्रा हुन्छ भन्ने विश्वासले नै हुनुपर्छ अघिल्लो वर्षको लकडाउनपछि खुलेको उडानको तुलनामा यो पटक राम्रो देखिएको छ’ उनले भने। बुद्ध एयरले दिनमा ३१ उडान गर्ने स्वीकृति पाएको छ।
कोटा अपुग हुने अवस्था भएपनि सरकारसँग फेरि उडान बढाउनका लागि अनुरोध गरिने यतीका प्रवक्ता बर्तौलाको भनाइ छ।
‘हामीले सबै सुरक्षाका मापदण्ड पालना गरेरै उडान गरिरहेका छौं।यद्यपी विमानस्थलको उपलब्ध पूर्वाधारको पनि ख्याल गर्दै यात्रुलाई सहज हुनेगरी अनुरोध गर्ने नै छौं’ उनले भने।
सबैभन्दा बढी उडान बुद्ध एयरका दिनमा ३१ हुनेछन् त्यस्तै यतिका १५ र श्रीका १० उडान हुने छन्।
