सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सोमबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा सम्पन्न भएको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सानी र नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिएको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी १४ अर्ब २० करोड ९७ लाख ४ हजार ६ रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश पारित गर्यो। यस अनुसार शेयरधनीहरूलाई ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद लाभांश प्रदान गरिने छ।
सभाका अध्यक्ष प्रवल जङ्ग पाण्डेले शेयरधनीहरूको सुझाव अनुसार बैंकको काम कारबाहीलाई अझ प्रभावकारी बनाउँदै बैंकको प्रगतिमा निरन्तरता राख्ने विश्वास व्यक्त गरे। उनले बैंकले उच्चतम स्तरको संस्थागत सुशासन र अनुपालन कायम राख्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा यसलाई अझ सुदृढ बनाउने जानकारी गराए।

