भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार राति निधन भएको छ। उहाँ ९२ वर्षका हुनुहुन्थ्यो। अचानक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो।
एम्सले जारी गरेको विज्ञप्ति अनुसार, “उहाँलाई राति ८ः०६ बजे मेडिकल इमर्जेन्सीमा भर्ना गरिएको थियो तर सबै प्रयासका बावजुद राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो।”
मनमोहन सिंहको उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण लामो समयदेखि उपचार भइरहेको थियो। उहाँले यसै वर्षको सुरुमा सक्रिय जीवनबाट विश्राम लिनुभएको थियो।
सन् १९३२ मा पञ्जाबमा जन्मिनुभएका सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको थियो। २००४ मा कांग्रेसले लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध विजय हासिल गरेपछि उहाँले पहिलो पटक प्रधानमन्त्री पद सम्हाल्नुभयो। दोस्रो कार्यकाल उहाँले सन् २००९ देखि २०१४ सम्म पूरा गर्नुभयाे।
एक अर्थशास्त्रीका रूपमा ख्याति कमाएका सिंहले भारतको अर्थमन्त्रीलगायत अन्य महत्वपूर्ण पदमा रहेर काम गर्नुभएको थियो। उहाँको नेतृत्वमा भारतको आर्थिक नीतिमा ठूलो परिवर्तन आएको मानिन्छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भन्नुभयो, “भारतले एक सम्मानित नेता गुमाएको छ। उहाँको नम्रता र विद्वता सधैं स्मरणीय रहनेछ।”
कांग्रेस नेता राहुल गान्धीले सिंहलाई बुद्धिमान र कर्तव्यनिष्ठ नेता भन्दै शोक प्रकट गर्नुभयो। उहाँले भन्नुभयो, “मनमोहन सिंहजीको नेतृत्वले सम्पूर्ण राष्ट्रलाई प्रेरित गर्यो। उहाँको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु। मैले एक गुरु र मार्गदर्शक गुमाएको छु।”
प्रधानमन्त्रीका रूपमा सिंहले भारतीय जनताको जीवनस्तर उकास्न अथक प्रयास गर्नुभएको थियो। उहाँको विचारशील नेतृत्व र आर्थिक क्षेत्रको गहिरो ज्ञानले भारतलाई नयाँ उचाइमा पुर्याएको छ।

