काठमाण्डौ। सिरियामा राष्ट्रपति बसर अल–असदको सरकार ढलेपछि कयौं वर्षदेखि मत्थर भएको हिंसा पुन शुरु भएको छ । हिंसा मत्थर भएको केवल केही हप्ता पछि सिरिया पुनः एक पटक हिंसाको चपेटामा परेको हो ।
गएको तीन दिनदेखि सिरियाली सुरक्षा बल र पूर्व राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच चलिरहेको द्वन्द्वमा एक हजारभन्दा बढी मानिसहरू मारिएका छन् । मारिनेहरूमा ७४५ जना सर्वसाधारण र यिनीहरूलाई नजिकबाट गोली हानिएको सिरियाको अवस्थाको अनुगमन गर्ने एक संस्थाले बताएको छ ।
द्वन्द्वमा १२५ सुरक्षा बल र १४८ असद समर्थक लडाकु मारिएको सो संस्थाले उल्लेख गरेको छ । सिरियाली सरकारले हिंसाग्रस्त शहर लताकियामा पिउने पानी र बिजुलीको आपूर्ति बन्द गरेको छ । सिरियामा बिहीबारदेखि हिंसा सुरु भएको थियो, जुन चाँडै नै देशका धेरै भागहरूमा फैलिएको छ ।
शुक्रबार, सुन्नी मुस्लिम सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूले पूर्व राष्ट्रपति बसर अल–असदका समर्थक अलावि समुदायका मानिसहरूलाई निशाना बनाउन थालेका थिए ।

