ज्योति पन्थी
बबई (बर्दिया), वैशाख २ गते । लुम्बिनी प्रदेशको पर्यटकिय गन्तव्यस्थलको रुपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्तीसारमा मंगलबार हात्तीपूजा गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ ।
मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न बर्दियामा प्रत्येक वर्ष हात्तीपूजा गर्ने गरिन्छ । २०७१ साल देखिनै वैशाख पहिलो सातालाई वन्यजन्तु सप्ताह अन्तर्गत मनाउने गरिएको छ । वैशाख १ गते पुरानो झण्डा हटाएर नयाँ झण्डा राखि एक आपसमा शुभकामना आदानप्रदान गरेर वन्यजन्तु सप्ताह सुरु गरिएपनि वैशाख दुई गते मंगलबार बिहान निकुञ्ज अन्तर्गतको हात्तीसारमा हात्तीपूजा गरेर वन्यजन्तु सप्ताह मनाउने प्रचलन रहँदै आएको छ ।
निकुञ्जको आसपासमा थारु समुदायको बाहुल्यता रहेको र निकुञ्जको जनवारदेखि उनीहरु बढी प्रभावित हुने भएकाले मानव र हात्तीबिच सह अस्तित्व कायम गर्न थारु धार्मीक गुरु (पण्डित)हरुबाट हात्तीको पूजा गरेर वन्यन्तु सप्ताह मनाउने परम्परा रहँदै आएको छ ।
मंगलबार बिहान बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्तिसारमा हात्तीलाई उखु केरा लगायतका फलफूल खुवाएर हात्तिपूजा गरिएको छ । हात्तीपूजा गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज चोरी सिकारी नियन्त्रण युवा परिचालन समितिका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हात्तीपूजाको आफ्नै महत्व हुन्छ निकुञ्जमा गरिने हात्तिपूजाले मानव र वन्यजन्तुलाई नजिक समेत गराउँछ भने स्थानीयलाई पनि निकुञ्जको हात्तीपूजाले निकुञ्जसँग नजिक बनाउने काम गर्दछ ।”
मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न र मानव हात्ति सहअस्तित्व कायम गर्नका लागि केही वर्षअघि हात्तीद्वारा सुङ्गुरलाई कुल्चिन लगाई हात्ती पूजा गर्ने गरिन्थ्यो तर केही वर्ष यतादेखि भने फरक तरिकाले वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ । केही वर्ष यता हात्तीको पूजा गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।
मानव वन्यजन्तुको सह अस्तित्वका लागि वन्यजन्तु सप्ताह मनाउने परिपाटि अनुसार वन्यजन्तु सप्ताह मनाउन थालिएको बर्दिया राष्टिय निकुञ्जले जनाएको छ भने हात्तीसारमा गरिने हात्ती पूजा रोमाञ्चक र शिक्षाप्रद समेत हुने गर्दछ । लुम्बिनी प्रदेश अन्तर्गत पश्चिम नेपालको सवैभन्दा ठुलो पर्यटकिय स्थलका रुपमा परिचित बर्दिया राष्टिय निकुञ्जमा देश विदेशका पर्यटकहरु अवलोकन गर्न आउने गर्दछन्।गोरखापत्र अनलाइनबाट

