काठमाडौँ ।२०८२ वैशाख १०गते ।
भाषा साहित्यमा साहित्यिक पत्रकारिताको ऐतिहासिक योगदान रहेको छ। नेपालको सबैभन्दा जेठो पत्रकारिता नै ‘साहित्यिक पत्रकारिता’ हो। यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट साहित्यिक पत्रकारलाई प्रदान गर्ने गरी २०८०सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार पहिलोपटक स्थापना गरेको हो ।
प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ को घोषणा गरेको हो। जसअनुसार वरिष्ठ साहित्यिक पत्रकारद्वय मोहन दुवाललाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र वीरबहादुर चन्दलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा प्रज्ञा-प्रतिष्ठानले गरेको हो।वरिष्ठ साहित्यिक पत्रकार दुवालले बिसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आउनुभएको हो ।उहाँको प्रधान सम्पादकत्वमा
जनमत साहित्यिक मासिक काभ्रेबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको छ। देश विदेशमा समेत प्रसिद्व जनमतले ३३० अङ्क प्रकाशित गरिसकेको छ।यो नेपाली भाषाको उत्कृष्ट साहित्यिक पत्रिकामा पर्दछ। स्रष्टा-द्रष्टा र सङ्गठक लगायतका बहुक्षेत्रमा विशेष योगदान गरेका दुवाल जनमत वाङ्मय प्रतिष्ठान तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।
वरिष्ठ साहित्यिक पत्रकार वीरबहादुर चन्द ‘विश्राम’ले तिसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आउनुभएको हो ।उहाँको प्रधान सम्पादकत्वमा डोट्याली भाषाको साहित्यिक मासिक ‘गुगुल्डी’सुदुरपश्चिमको कन्चनपुरबाट विगत २८ वर्षदेखि प्रकाशित हुँदै आएको छ।नेपाली डोट्याली भाषामा लोकप्रिय रहेको ‘गुगुल्डी’को ३३१ अङ्क प्रकाशित भइसकेको छ। साहित्यिक सर्जक र सांस्कृतिक सङ्गठक जस्तो महत्त्वपूर्ण भूमिकामा रहेका चन्द गुगुल्डी वाङ्ममय प्रतिष्ठानका अध्यक्ष रहेका छन् ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारको घोषणा गरेको हो ।”साहित्यिक पत्रकारिता भनेको प्राज्ञिक पत्रकारिता हो ।यसले सम्पूर्ण भाषासेवी र सर्जकलाई बौद्धिक खुराक प्रदान गर्दछ। प्राज्ञिक र सांस्कृतिक सत्ता निर्माण गर्न साहित्यिक पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको कुरा बैठकमा कुलपति राईले बताउनु भएको हो।उक्त पुरस्कारको राशि जनही ५०,०००/ (पचास हजार )रुपैयाँ रहेको छ। उक्त कुरा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला
Previous Articleविश्व अर्थतन्त्रको विकासमा भारी गिरावट आउने
Next Article यस्तो छ महिलाको वर्तमान अवस्था

