धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।
औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
प्रतिष्ठानमा उपकुलपति डा ज्ञानेन्द्र गिरी र डा मोहनचन्द्र रेग्मी रजिष्ट्रार भएर आएयता बेथिति बढेको बढेको आन्दोलनरत पक्षको भनाइ छ ।
प्रतिवेदनमा भ्रष्टाचारको आरोप लागेको संस्थाबाटै सामग्री खरिद गरिएको, १४ करोड ६० लाखको खरिदमा मूल्य सार्थकता सुनिश्चित नभएको, ८ गुणा महँगोमा एक दशकदेखि इन्टरनेट सेवा लिएको उल्लेख गरिएको छ ।
धरानमा छापा मार्नका लागि अख्तियार केन्द्रको ५ जना र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट १ जना गरी ६ जनाको टोली खटिएको थियो ।

