–विश्वनाथ खरेल
प्रत्येक वर्ष अगस्त १२ तारिखका दिन अन्तर्राष्ट्रिय युवा दिवस बिभित्र कार्यक्रम आयोजना गरेर विश्वभरि नै मनाइदैछ । यस अवसरमा आ¬आफ्नो देश सुहाउँदो नाराको तय गरेको हुन्छ । यस वर्षको भने ‘खाद्य प्रणालीमा रूपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नारासहित साताव्यापी विविध कार्यक्रमसहित साउन २८ गते अन्तर्राष्ट्रिय दिवस मनाइनेछ । हरेक वर्ष यसै दिन भव्यताका साथ यो दिवस मनाइदै आएको छ ।
सन् २००० देखि मनाउन थालिएको युवा दिवसका सस्करणहरुमा यस वर्ष सन् २०२१ सम्म आइपुग्दा यो २२ औं युवा दिवस हो । यसरी व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भूमीकाको महत्वलाई दर्शाउन हरेक बर्ष संसारभरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले युवा सहभागितालाई थप सकृय गर्ने नवप्रवर्तनात्मक उपायहरु र युवाको सकृयताले संसारमै ल्याउन सकिने सकारात्मक परिवर्तनलाई पनि उजागर गर्दछ । युवा भन्नाले पुरुष र महिला दुवैलाई जनाउँछ तर कति उमेरसम्मकोलाई युवा भन्ने ?
विभिन्न तर्क बितर्क भएको पाइन्छ । युवा शक्ति मुलुकको अमूल्य निधि हो । देश निर्माणमा युवा जनशक्तिको अति महत्वपूर्ण भूमिका हुन्छ । यसकारण युवा वर्तमान र भविष्य दुबैका आधार हुन् । युवाको परिभाषा विभिन्न देशमा फरक–फरक भएको पाइन्छ । संयुक्त राष्ट्रसंघले १८ देखि २४ वर्षका ब्यक्तिलाई युवा मानेको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले शारीरिक स्वस्यताका दृष्टिकोणले १५ देखि २४ वर्षकालाई युवा भनेको छ । हाम्रो देशको कुरा गर्ने हो भने युवा क्रियाकलाप सम्बन्धी उच्चस्तरीय प्रतिवेदन २०५३ अनुसार १५ देखि २५ वर्षकालाई युवा मानिएको छ । प्रस्तावित युवा नीति को मस्यौदाले १५ देखि ४० वर्षउमेर समूहका व्यक्तिलाई युवाको परिभाषामा राखेको छ ।
यो मापदण्ड भारतीय र दक्षिण अफ्रिकी मापदण्ड नजिक देखिन्छ । मूलतः भारतमा १३ देखि ३८ र दक्षिण अफ्रिकामा १४ देखि ३५ वर्षकालाई युवा भनिएको छ । नेपालमा नीति निर्माण तहमा युवाको पहुँच निकै कम देखिन्छ । निर्वाचन आयोगको तथ्याङ्ग अनुसार १८ देखि ३५ वर्षसम्मका मतदाता ५० दशमलव ७५ प्रतिशत छन् । मुलुकको पछिल्लो कुल जनसंख्या अनुसार नेपालको जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् ।
देशको झण्डैं एकतिहाईभन्दा बढी जनसंख्या संख्या ओगटेको युवाका लागि नेपाल सरकारले बुझेर अलग्गै विसं २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय बनायो । त्यसको साथै युवा क्षेत्र हेर्ने एउटा छुट्टै महाशाखा निर्माण ग¥यो । त्यसरी नै युवा नीति–२०६६ जारी ग¥यो । यसै क्रममा युवा नीति २०७२ र युवा विकासका लागि दीर्घकालीन १० वर्षे रणनीति र देशलाई सन् २०२५ सम्म दु्रत विकासशील राष्ट्रमा पु¥याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहँुच सुनिश्चित गर्नका लागि युथभिजन–२०२५ ले नेपाली युवा विकासको प्रमुख आधारस्तम्भ शिक्षालाई नै बनाएको थियो ।
युथ भिजनको पहिलो आधारस्तम्भ गुणस्तरीय र व्यावसायिक शिक्षा रहेको छ । यसैगरी, सरकारले २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याई ७७ वटै जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा काम गर्दै आइरहेको छ । यसैगरी, नेपाल सरकारको १३औँ योजनाको आधारपत्रमा युवामा उद्यमशीलता र क्षमता अभिवृद्धि गर्ने, स्वरोजगार तथा आयआर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्न सक्ने गरी सशक्तिकरण गर्ने रणनीति तय गरिएको छ ।
विश्व युवा सूचकाङ्कमा नेपालको रेखाचित्र धेरै माथि पुगेको छ । फलतः कमन वेल्थ देशहरूको सर्वेक्षणमा सन् २०११ मा नेपाल १९३ वटा देशहरूमध्ये १४५ औं स्थानमा थियो भने सन् २०१६ आइपुग्दा ६८ देशलाई उछिनेर नेपाल ७७ नम्बरमा आइपुगेको छ । जब कि राष्ट्रिय युवा परिषद्ले गरेका सबै कामहरू मूल्याङ्कनमा समावेश भएका छैनन् । त्यसैगरी, श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्यांकबाट वार्षिक पाँच लाख ३८ हजार विदेश जानेमा युवा अहिले तीन लाख २३ हजारमा झरेको छ । यीमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र केवल दुई प्रतिशत मात्र दक्ष जनशक्तिका रूपमा रहेका छन् । देशमा हरेक वर्ष करिब ४ लाख युवाहरू रोजगारको सिलसिलामा विदेश पलायन हुने गरेका छन् । यसरी विदेशिने युवाहरूमध्ये ८५ प्रतिशत अदक्ष, १० प्रतिशत अर्धदक्ष तथा ५ प्रतिशत दक्ष रहेका छन् । मुलुकको अहिलेको समग्र बेरोजगारको दर हेर्दा ४ दशमलव १ प्रतिशत रहेको छ । आन्तरिक रोजगारको व्यवस्था नहुनु, उद्योग कलकारखानाको स्थापना नहुनु, सरकारी नीति नियमको प्रभावकारी कार्यान्वय हुन नसक्नु युवाहरू विदेशिनुका मुख्य कारण हुन् । कर्मशील युवाहरूको बढ्दो विदेश जाने संख्यासँगै गाउँ–बस्तीसमेत युवाविहीन बन्दै गएको छ भने कृषिका लागि उर्वर भूमि मानिएका जमिनहरू पनि बाँझो हुँदै गएका छन् । यसले एकातर्फ खाद्यात्रको डरलाग्दो अभावलाई निम्त्याइरहेको छ भने अर्कोतर्फ खाद्यात्र आयातका कारण देशको अर्थतन्त्र धराशायी बन्दै गएको छ । यसका साथै औद्योगिक उत्पादनसमेत नराम्रोसँग प्रभावित भएको छ । आर्थिक विकासको प्रमुख ऊर्जाको रूपमा रहेका युवाहरू अधिकांश अदक्ष रहेकाले विदेशमा गएर पनि न्यून पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य भएका छन् । देशको आठौं र नवौं पञ्च वर्षीय योजनामा समेत १५ देखि २९ वर्ष उमेरलाई युवा मानिएको थियो । त्यस्तै गरी शान्ति–नेपालले १५–४० वर्ष उमेर समूहलाई र राष्ट्रिय युवा नीति मस्यौदा समितिले पनि १५–४० वर्षलाई युवाको समूहमा राखेको छ । त्यसकारण नेपालको विद्यमान कानुनले १६ वर्षमुनिकालाई नाबालकमा पर्ने हुदाँ १६ देखि ३० वर्षसम्मको पुरुष तथा महिलालाई युवा परिभाषित हुन उपयुक्त देखिन्छ ।
समग्रमा भन्नुपर्दा सन् २०३० को दिगो विकासको लक्ष्यले पनि युवाहरुलाई सीप र रोजगारीको अवसर मुख्य रुपमा प्रदान गर्ने ध्येय राखेको छ । यसरी नै दिगो विकासको लक्ष्यको ४.४ मा सन् २०३० सम्म दक्ष सीप भएका युवा तथा वयष्कहरुमा उल्लेखनीय वृद्धि गर्ने भनेर लेखिएको छ । त्यसले गर्दा पनि युवाहरु देशका वर्तमानका आधार र भविष्यका कर्णधार हुन् । उनीहरूलाई उचित शिक्षा–दीक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र सम्बृद्धीमा सरिक गराउनु आजको आवश्यकता हो । युुवा दिवस मनाउनुको सार्थकता पनि यसैमा छ । तर, बदलिँदो परिवेशमा समेत युवा लक्षित विभिन्न कार्यक्रमहरू ल्याइएको भए पनि तिनीहरूले युवालाई प्रभाव पार्न सकेका छैनन् । अतः युवाहरुले सामाजिक, आर्थिक, र्धािर्मक, राजनीतिक आदि क्षेत्रमा ठूलो भूमिका खेलेका छन् ।
किशोरवर्गको क्षमता वृद्धि र विकासका लागि राज्यले प्राथमिकता दिई राष्ट्रिय युवा नीति, कार्यनीति, रणनीति, कार्यक्रम र कार्य योजना बनाई मुलुकलाई आवश्यक मार्ग निर्देशन जरुरी भएको छ । आज आएर देशमा झन्डै दैनिक १ हजार ५ सयको हाराहारीमा विदेशीने क्रमलाई कसरी हुन्छ रोक्न सकिन्छ । युवा समूह जिम्वेवार वर्गकारुपमा प्रस्तुत भैरहेको छ । अझ राजनीतिको कुरा गर्ने हो भने त यस वर्ष नयाँ नेपाल निर्माणको अभियानमा लागेका सबै युवा कार्यकर्ता र समर्थक हुन । यसर्थ देशमा शान्ति सुरक्षा व्यवस्थापन कार्यमा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतिर एक दशकभन्दा बढी समयदेखि द्वन्द्वग्रस्त बनेको हाम्रा मुलुकले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक तथा विकासका हिसावले पनि काँचुली फेर्न सक्ने अवस्था युवावर्ग आफैले सिर्जन गर्नुपर्छ ।
युवा समूह जिम्मेवार वर्गकारुपमा प्रस्तुत भैरहेको छ । यस युवा शक्तिको सीप र क्षमता अभिवृद्धि गरी राष्ट्र निर्माणमा लगाई नयाँ नेपालको विकास गर्नु आजको समयको माग पनि हो । त्यसको वैकल्पिक उपायहरु के हुन सक्छन् ? तिनीहरुको बाटो पहिलाएर बेलैमा त्यसप्रति सजग हुन सकिएन भने भोलि गएर राज्यले ठूलो मूल्य चुकाउनु नपर्ला भन्न सकिन्न । त्यसकारणले गर्दा मुलुकलाई आवश्यक पर्ने ज्ञान र दक्षता भएका ब्यक्ति भविष्यमा राज्यका वैज्ञानिक हुन सक्ने युवाहरुले देश निर्माणमा अग्रणीभूमिका खेल्नु पर्दछ । जसले गर्दा झण्डै ३ करोडभन्दा बढी नेपालीहरुको भविष्यलाई सुनियोजित रुपमा फूल्न र फलाउन सकियोस् ।
हाल देशमा आईपरेको जल्दोबल्दो समस्या भनेकै कोरोनाको कहरलाई समाधान गर्ने उपायको लागि सरकारसँग हातेमालो गरी निराकरण गरी युवावर्गलाई रोजगारीको अवसर श्रृर्जना गर्ने जस्ता विषयवस्तु खडा भएका छन् । यो विषय नै अहिलेको प्रथम प्राथमिकताको रुपमा रहेको छ । अतः नयाँ नेपाल बनाउने अभिभारा सबैभन्दा बढी आजको युगमा युवाहरुको काँधमा आइपरेको छ । फलतः जनताले माग गरे अनुसारको स्वर्गभूमि नेपाल बनाउनको लागि बेलैमा सोचविचार गरेर राजनीतिक पार्टीहरु, नागरिक समाज, सरकार र युवा शक्तिहरुले युद्धस्तरमा लाग्नु पर्ने बेला आएको छ ।


1 Comment
Pingback: अन्तर्राष्ट्रिय युवा दिवस र नेपाल | Bishow Nath Kharel