तालिबान लडाकुहरु चारैतिरबाट अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रमुख शहरहरु कब्जा गरेका तालिबान लडाकुहरु आइतबार सबै क्षेत्रबाट काबुल प्रवेश गरेका हुन्।
अमेरिकासहित नेटोमा आवद्ध विदेशी सैनिकहरुले विगत २० वर्षदेखि जारी सैन्य अभियान अन्त्यको तयारी गरेसँगै तालिबानको प्रभाव बलियो भएको हो। पछिल्लो डेढ हप्ताको बिचमा तालिबान लडाकुले प्रमुख सबै प्रान्तीय राजधानी कब्जा गरेका हुन्।
आइतबार बिहान उनीहरुले रणनीतिक रुपमा महत्वपूर्ण शहर जलालावाद कब्जा गरेका थिए। तालिबान लडाकुले बिना युद्ध जलालावाद कब्जा गरेको हो।
उनीहरु काबुललाई घेराउ गरि प्रवेशको क्रममा रहेसँगै युरोपियन युनियनका कर्मचारीहरु काबुलको गोप्य स्थानबाट काम गरिरहेका छन्।
यस्तै अमेरिकी दूतावासका ५० भन्दा कम कर्मचारीहरुले काबुल विमानस्थलबाट काम गरिरहेको जनाइएको छ। पश्चिमा देशहरुले आफ्ना नागरिक तथा कर्मचारीहरु फिर्ता लैजान हतारो गरिरहेका छन्।
सुरक्षित रुपमा निस्कन चाहनेहरुलाई जान दिन तालिबानले आफ्ना लडाकुलाई भनेको समाचार संस्था रोयटर्सले जनाएको छ। दोहामा रहेका तालिबान नेताले रोयटर्सलाई यस्तो जानकारी दिएका हुन्। तालिबान नेताले महिलाहरुलाई सुरक्षित स्थानमा जान पनि भनेका छन्।
भूपरिवेष्ठित अफगानिस्तानका लागि सो राजमार्ग अति महत्वपूर्ण छ। जलालावादका गभर्नरले आत्मसमर्पण गरेकाले बिना युद्ध शहर तालिबानको कब्जामा गएको स्थानीय अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्। मानवीय हताहती नहोस् भन्नका लागि आत्मसमर्पण गरिएको बताइएको छ।
यसअघि तालिबान लडाकुले उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका थिए।
मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ। सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ।
अमेरिकी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुगेसँगै तालिबानले ग्रामीण इलाका हुँदै शहरी क्षेत्रमा आफ्नो प्रभाव बढाएको छ। पछिल्लो हिंसाका कारण साढे दुई लाख भन्दा बढी मानिस बिस्थापित भएका छन्।
विस्थापित भएकाहरुमध्ये धेरै राजधानी काबुल तर्फ गएका छन्। तालिबानको नियन्त्रणमा गएको क्षेत्रका महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारिएको छ। तालिबान लडाकुले आफ्ना नियमहरु नमान्नेहरुलाई कुटपिट गरेको पनि खबर छ।

