मोरङ जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट चार सयभन्दा बढीको मृत्यु भएको छ। गत वर्षदेखि हालसम्म कोरोना संक्रमणबाट ४ सय १ जनाको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए।
प्रजिअ निरौलाले विराटनगर महानगरपालिकामा मात्रै १ सय ६७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए। प्रदेश राजधानीसमेत रहेको महानगरपालिकामा हालसम्म १२ हजार ७ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। जसमा ९ हजार ९ सय ३९ जनाले कोरोनालाई जित्न सफल भएका छन्।
यस्तै पूर्व–पश्चिम राजमार्ग हुँदै झापासँग जोडिएको उर्लाबारी नगरपालिकामा ६० जनाको मृत्यु भएको छ। उर्लाबारीमा हालसम्म १ हजार १ सय ३० जनामा संक्रमण भएको छ। जसमध्ये ९ सय ३७ जना संक्रमण मुक्त भइसकेका छन्।
संक्रमित संख्याको हिसाबमा सुन्दरहरैंचा नगरपालिकामा २ हजार ३ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३९ जनाको मृत्यु भइसकेको नगरपालिकामा १ हजार ९ सय ८० जना भने संक्रमण मुक्त भएको प्रशासन कार्यालयले जनाएको छ।
प्रशासन कार्यालयका अनुसार जिल्लाको धनपालथान गाँउपालिकामा हालसम्म ३ जनाको मृत्यु भएको छ। जिल्लाको १७ वटा स्थानीय तहमध्ये धनपालथानमा मृतकको संख्या सबैभन्दा कम रहेको छ। यस्तै ग्रामथान गाँउपालिकामा हालसम्म ९५ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्लाभर हालसम्म कुल २३ हजार १ सय जना संक्रमित भएका छन्। जसमा १७ हजार ६ सय ५४ जना निको भएका छन्। यससँगै जिल्लाले भदौ १० गतेसम्मका लागि निषेधाज्ञालाई जारी राखेको छ।
यसक्रममा प्रशासनले डेरी, दुधजन्य पदार्थ विक्रीका लागि बेलुका ८ बजेसम्म पसल सञ्चालन गर्न पाउने जनाएका छन्। यद्यपि अन्य व्यवसायीक पसल भने स्वास्थ्य मापदण्ड अपनाएर बेलुका ६ बजेसम्म खोल्न पाइने प्रशासनले जनाएको छ। प्रशासनले होटल तथा रेष्टुरेन्ट स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने जनाएको छ।

