काठमाडौं: शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ । शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको आयोगका समाचार छ ।
आयोगले पूर्णता पाएसँगै आयोगले वार्षिक कार्यतालिका बनाउने, नियमावली संशोधन गर्ने, पाठ्यक्रम निर्माण लगायतको काममा जुटेको छ ।
नियमावली संशोधन
शिक्षक सेवा आयोगले नियमावली संशोधन प्रकृया अगाडि बढाएको छ । नियमावली संशोधन भएपछि शिक्षक छनोट र अध्यापन अनुमति पत्र (लाइसेन्स) आन्तरिक बढुवा तथा खुला विज्ञापन मार्फत शिक्षक छनोट प्रक्रियामा जाने तयारी आयोगले गरेको छ ।
अहिले बनिरहेको पाठ्यक्रम अनुसार भने यो वर्ष शिक्षकहरुले परीक्षा दिन नपाउने सम्भावना बढेको छ । पाठ्यक्रम बनाउन समय लाग्ने र आयोगले स्वीकृत गरिसकेपछिको तीन महिनापछि मात्रै संशोधित पाठ्यक्रम या नयाँ पाठ्यक्रम लागु हुने कानुनी प्रावधान छ
प्राथमिक तहमा भएका शिक्षक प्राथमिक द्वितीयमा र प्राथमिक प्रथममा जान सक्छ । निम्न माध्यमिक अथवा माध्यमिक तहमा भएकाहरु पनि त्यसैगरी द्वितीयमा, प्रथममा आन्तरिक प्रतियोगिता परीक्षाबाट जान सक्छ ।
शिक्षा ऐनले विद्यालयको संरचना आधारभूत तह र माध्यमिक तहमा वर्गीकरण गरेको छ । तर नियमावली संशोधन नहुँदा शिक्षक दरबन्दी भने, प्रावि, निमावि र मावि तह अनुसार नै हुनेछ ।
१२ हजार बढी शिक्षक दरबन्दी रिक्त
आयोगका अनुसार १२ हजार बढी शिक्षक दरबन्दी रिक्त रहेको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको विवरण अनुसार माध्यमिक तहमा एक हजार ४२ दरबन्दी, निम्न माध्यमिक तहमा एक हजार ९१३ दरबन्दी र प्राथमिक तहमा नौ हजार ६०१ दरबन्दी रिक्त छ ।
आयोगले केन्द्रलाई २०७८ चैत मसान्तसम्मको रिक्त दरबन्दी पठाउन अनुरोध गरेको जनाएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले भदौ १० सम्म सबै जिल्ला समन्वय इकाइलाई विवरण पठाउन सूचना जारी गरेको छ ।
शिक्षक सेवा आयोग नियमावलीको १० औं संशोधनले सामान्य परीक्षा १०० पूर्णांकको र १०० पूर्णांकको विषयगत परीक्षा भनेर तोकेकाले शिक्षकहरुले २०० पूर्णांकको परीक्षा दिनुपर्नेछ । सामान्य परीक्षामा १०० पूर्णांकमा ५० अंक ल्याउनेहरु मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउनेछन् ।
त्यस्तैगरी मानवस्रोत विकास केन्द्रले करिब २ हजार ६ सय विभिन्न तहका शिक्षकहरुको बढुवा प्रयोजनका लागि रिक्त विवरण पठाएको आयोगले जनाएको छ ।
नयाँ पाठ्यक्रम बनाउँदै आयोग
शिक्षकको स्थायी खुला प्रतियोगिताको लागि आयोगले बाँकी विषयको नयाँ पाठ्यक्रम बनाउने प्रकृया थालेको जनाएको छ ।
आयोगले योभन्दा अघि निम्न माध्यमिक तहका ५ विषय र माध्यमिक तहका १६ विषयको पाठ्यक्रम स्वीकृत गरिसकेको छ । आयोगले यो वर्ष निम्न माध्यमिकको तीन वटा पाठ्यक्रम र माध्यमिकको दुई वटा पाठ्यक्रम बनाउनको लागि प्रकृया अगाडि बढाएको जनाएको छ ।
तर अहिले बनिरहेको पाठ्यक्रम अनुसार भने यो वर्ष शिक्षकहरुले परीक्षा दिन नपाउने सम्भावना बढेको छ । पाठ्यक्रम बनाउन समय लाग्ने र आयोगले स्वीकृत गरिसकेपछिको तीन महिनापछि मात्रै संशोधित पाठ्यक्रम या नयाँ पाठ्यक्रम लागु हुने कानुनी प्रावधान छ ।
शिक्षकको लाइसेन्स लिनेको संख्या
सात लाख बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख ७० हजार १२ जनाले र माध्यमिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।
माध्यमिक तहको लाइसेन्स लिएकोले शिक्षा विषयमा कम्तिमा १० महिने तालिम लिएको छ भने उक्त व्यक्तिले निम्न माध्यमिक र प्राथमिक तहको शिक्षक दरबन्दीका लागि परीक्षा दिने पाउने व्यवस्था छ ।
जो व्यक्तिले निम्न माध्यमिक तहको लाइसेन्स लिएको छ र तालिम लिएको छ भने उक्त व्यक्तिले पनि प्राथमिक तहमा परीक्षा दिन पाउँछ । तर यसरी एउटै व्यक्तिले तीन वटा लाइसेन्स लिएको पनि हुनसक्नेछन् ।-स्रोत: अनलाईन खबर ।

