काठमाडौं, साउन २ – समग्र अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेका बेला आर्थिक वर्ष २०८१/८२ मा धितोपत्र बजारमा भने उल्लेखनीय प्रगति भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्याङ्कअनुसार, दोस्रो बजार कारोबारले हालसम्मकै उच्च रेकर्ड कायम गर्दै रु २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ ।
यो कारोबार अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा एक सय ८९ दशमलव २३ प्रतिशतले बढी हो । २०८०/८१ मा कुल कारोबार रकम रु ७ खर्ब ३४ अर्ब ६८ करोड थियो । यसअघि २०७७/७८ मा रु १४ खर्ब ५४ अर्ब ४४ करोडको कारोबार भई सबैभन्दा धेरै कारोबार भएको वर्षका रूपमा चिनिएको थियो । नयाँ रेकर्डले त्यसलाई पनि पार गरेको छ ।
बजार पुँजीकरणमा पनि सकारात्मक प्रगति देखिएको छ । २०८१ को असार मसान्तमा रहेको रु ३५ खर्ब ५३ अर्ब ६७ करोड बराबरको बजार पुँजीकरण २०८२ को असार मसान्तसम्ममा ३१ दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भई रु ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ ।
आर्थिक वर्षको अन्त्यसम्म सूचीकृत कम्पनीको सङ्ख्या दुई सय ७२ पुगेको छ । मर्जर तथा अधिग्रहण (M&A) प्रक्रियाका कारण तीन कम्पनी सूचीबाट हटेका छन् भने चार नयाँ कम्पनी प्रथम सार्वजनिक निष्कासन (IPO) बाट थपिएका छन् ।
धितोपत्र सूचीकरणको हिसाबले हेर्दा सो आवमा तीन करोड ६५ लाख कित्ता सेयर प्रथम निष्कासन, ११ लाख २० हजार कित्ता सेयर थप निष्कासन, चार करोड ३२ लाख ५८ हजार कित्ता सरकार तथा स्थानीय तहबाट वितरण, ३७ करोड ८१ लाख कित्ता सामूहिक लगानी कोषका एकाइ, र ८३ लाख कित्ता संस्थागत ऋणपत्र गरी कुल ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकरणमा आएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले यस्तो उत्साहजनक प्रगति सम्भव गराउनेमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, सञ्चारकर्मी, र सम्पूर्ण लगानीकर्ताप्रति आभार व्यक्त गरेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बजारको सकारात्मक संकेतले भविष्यमा पुँजी बजारमा अझै विस्तारको सम्भावना बढाएको बताए ।

