काठमाडौं । केही समयदेखि सक्रिय राजनीतिबाट टाढा रहेका वरिष्ठ नेता वामदेव गौतम अन्ततः नेकपा (एकीकृत समाजवादी)मा समावेश भएका छन् । नेकपा एकता अभियानको नेतृत्व गर्दै आएका गौतम शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित औपचारिक समारोहमार्फत पार्टीमा समाहित भएका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका शीर्ष नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष गौतमले औपचारिक रूपमा पार्टी प्रवेशको घोषणा गरे । सो अवसरमा उनले आफू एकीकृत समाजवादीमा समावेश हुन पाउँदा निकै खुसी लागेको बताए ।
गौतमले स्वयम्भूस्थित पार्टी कार्यालयसम्म आइपुग्न चार वर्ष लागेको उल्लेख गर्दै अब समाजवाद निर्माणका लागि निर्णायक ढंगले लाग्ने प्रतिवद्धता जनाए । ‘चार वर्षअघि आउन पाएको भए समाजवाद निर्माणको कुरा अहिलेसम्म भइसकेको हुन्थ्यो’, उनले भने, ‘अब म लागेपछि समाजवाद हुन्छ, किनभने म आन्दोलनको व्यक्ति हुँ । मैले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल भएको छैन ।’
उनले आगामी १० वर्षभित्र नेपाललाई युरोपका विकसित मुलुकको जस्तै अवस्थामा पुर्याउने दाबीसमेत गरे । ‘नेपालीहरू मागेर होइन, अब संसारलाई पाल्ने अवस्थामा पुग्न सक्छौं’, गौतमले भने । उनले आफूले समाजवाद निर्माणका लागि तयार पारेको १२ सय खर्ब बराबरको योजनाबारे पनि जानकारी गराउँदै, त्यसको आधारमा नेपालमा समाजवादी संरचना निर्माण सम्भव भएको दाबी गरे ।
कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले वाम एकता अभियानको सन्दर्भमा समाजवादी मोर्चासँगको सहकार्यलाई प्राथमिकता दिएको बताए । ‘हामी अहिले समाजवादी मोर्चाका अन्य घटकहरूसँग पनि छलफलमा छौं । सहमति बनेमा आगामी दिनमा एकता हुन सक्छ’, उनले भने ।
तर, नेपालले नेकपा एमालेसँग भने हालको अवस्थामा एकताको कुनै सम्भावना नरहेको प्रस्ट पारे । उनले पार्टीको प्राथमिकता अहिले आफ्ना संगठन र जनाधार बलियो बनाउनेतर्फ केन्द्रित भएको बताए ।
गौतमले पनि एमालेमा फर्किन चाहेको चर्चा चलिरहेका बेला एमालेभित्रबाट सकारात्मक संकेत नआएपछि अन्ततः एकीकृत समाजवादी रोजेका हुन् । यसअघि उनले पार्टी एकता अभियानमार्फत नयाँ शक्ति निर्माणको अभियान चलाइरहेका थिए ।
नेकपा एकीकृत समाजवादीमा गौतमको प्रवेशसँगै पार्टीभित्र वाम एकता र समाजवाद निर्माणको बहस थप चर्किने देखिएको छ ।

