काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको सूचना, सञ्चार तथा प्रकाशन विभागको बैठक कुपण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। विभाग प्रमुख तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’को अध्यक्षतामा सम्पन्न बैठकमा स्थायी समिति सदस्य रामसिङ श्रीस र पोलिटब्यूरो सदस्य गंगा पौडेलको पनि उपस्थिति थियो।
बैठकको सुरुवातमा ज्ञात-अज्ञात शहीदप्रति एक मिनेट मौनधारण गरिएको थियो। बैठकले विगतका निर्णयहरूमाथि समिक्षा गर्दै विशेषगरी पार्टीले चैत्र ४ देखि वैशाख १८ सम्म सञ्चालन गरेको जनसम्पर्क विस्तार अभियानबारे गहन समीक्षा गरेको छ।
बैठकमा जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउन विभागअन्तर्गत गठन गरिएका हाँक डेस्क, मूलबाटो तथा वर्गदृष्टि डेस्क, र बाह्य मिडिया डेस्कहरूबाट उल्लेखनीय कार्य भएको निष्कर्ष निकालिएको छ।
बैठकले सूचना, सञ्चार तथा प्रकाशन विभागको सचिवमा बालकृष्ण ओलीलाई चयन गरेको छ। साथै, रामबहादुर बुढाको संयोजकत्वमा पाँच सदस्यीय समाचार समिति गठन गरिएको छ। समितिका अन्य सदस्यहरूमा बालकृष्ण ओली, डा. केशव देवकोटा, अम्विका चन्द, र गोविन्द पौडेल रहेका छन्।
बैठकले पार्टीभित्र पत्रकारिता सम्बन्धी दक्षता अभिवृद्धि गर्न विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ। पार्टीले आगामी दिनमा सञ्चार क्षेत्रको सशक्त परिचालन गर्दै जनतामाझ विचार प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको छ।

