काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ६ ठूला उद्योगले ४ अर्ब रुपैयाँभन्दा बढी विद्युत् महसुल नतिरेपछि उनीहरूको बिजुली लाइन काटेको छ।
लाइन काटिएका उद्योगहरूमा जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स रहेका छन्।
नेपाल विद्युत प्राधिकरणका अनुसार जगदम्बा स्टीलले १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङले ७५ करोड ३७ लाख, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख, घोराही सिमेन्टले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख, र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ विद्युत बक्यौता तिर्न बाँकी छ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रंकलाइन सेवाको शुल्क बापत हो। उनले भने, “पटकपटक तिर्न आग्रह गर्दा पनि उद्योगहरूले अटेर गरेपछि बाध्य भएर लाइन काटिएको हो। बक्यौता तिरेपछि मात्रै लाइन जडान हुनेछ।”
सिलवालका अनुसार प्राधिकरणले तिहारको सार्वजनिक बिदामा समेत बक्यौता तिर्न सहजता होस् भनेर काउन्टर सञ्चालन गरेको छ। उनले थपे, “२८ किस्ताको सुविधा दिइएको छ। पहिलो किस्ता बुझाएपछि जुनसुकै बेला काटिएको लाइन पुनःजोडिनेछ।”
विद्युत् प्राधिकरणले लाईन काटेपछि उद्योग समूह (नेपाल) ले विज्ञप्ति जारी गर्दै उक्त कार्यलाई “संस्थागत स्वेच्छाचारिता” भनेको छ। जारी विज्ञप्तिमा भनिएको छ– “यो प्रमाणहीन शक्तिको दुरुपयोग हो, जसले प्रत्येक नेपालीको आर्थिक भविष्यमाथि खतरा सिर्जना गरेको छ।”
उद्योगीहरूले विवाद ३० भन्दा बढी ठूला उद्योगको साझा समस्या भएको दाबी गर्दै प्राधिकरणको बिलिङ प्रणालीमै गम्भीर कमजोरी रहेको बताएका छन्।
“प्राधिकरणसँग सेवा उपयोग गरेको प्रमाण नै छैन। डाटा र लोडसेडिङ अवधिको टीओडी मिटर आधारमा मात्रै दायित्व निर्धारण हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
उनीहरूले प्रशासकीय पुनरावलोकनका लागि दिएको निवेदन र ५ प्रतिशत बैंक ग्यारेन्टीसमेत बुझाएपछि पनि प्राधिकरणले कानुनी प्रक्रिया रद्द गरेको आरोप लगाएका छन्।
उद्योगीहरूको भनाइमा, यी छ ठूला उद्योगहरूले १५ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिएका छन्।
“बिजुली काट्ने धम्की ऋण उठाउने वैध रणनीति होइन, यो राष्ट्रिय अर्थतन्त्रका लागि आत्मघाती कदम हो,” विज्ञप्तिमा भनिएको छ।
प्राधिकरणले यसअघि १२ असोजमा २१ दिने सूचना जारी गर्दै बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने चेतावनी दिएको थियो। सोपछि केही उद्योग अशोक स्टिल, हामा स्टिल, हुलास स्टिल, लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले प्राधिकरणको बक्यौता रकम किस्तामा तिर्न थालिसकेका छन्।

